३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

माधव नेपालसहित चार सांसद निलम्बित

२२ जेठ, काठमाडाैं ।  प्रतिनिधिसभाका ४ सांसदको पद निलम्बनमा परेको छ।  एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। पतञ्जली योगपीठले जडिबुटीको खेती गर्न र आयुर्वेदिक अस्पताल खोल्न पाएको हदबन्दी छुट जग्गा बेच्न दिने निर्णय गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष नेपालको सांसद पद स्वतः निलम्बनमा परेको हो।

योसँगै अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै निलम्बनमा पर्ने सांसदको संख्या ४ पुगेको हो। नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद याेअघि नै निलम्बनमा परेको छ। टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वत:निलम्बनमा परेको हो। त्यस्तै, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको थियो। अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएसँगै सांसद पद निलम्बनमा परेको थियो।

साथै, पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद पनि यसअघि नै निलम्बनमा परेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् लामिछाने सहकारी बचत ठगी तथा अपचलन र संगठित अपराधसमेतको मुद्दामा अहिले पुर्पक्षका लागि थुनामा रहेसँगै उनकाे सांसद पद निलम्बनमा परेको हाे ।  सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत भने फरार छिन्।

प्रकाशित मिति : June 5, 2025 at 2:59 pm