१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

मुद्दा मिलाइदिन्छु भनी १ लाख ७० हजार ठगी गर्ने प्रमोदकुमार पक्राउ

२० जेठ, सिरहा । सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै रू एक लाख ७० हजार ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरका प्रमोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सिरहा नगरपालिका–१६ माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा मुद्दा मिलाइदिने भन्दै महतोले रकम लिएका थिए । विवेककी आमा रानीदेवी यादवले आफूसँग उनले २०८१ असार २७ मा रू एक लाख ७० हजार लिएको जाहेरीमा उल्लेख गरेको प्रहरूले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा प्रमोदलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत सिरहाबाट चार दिनको म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको भन्दै कसैले काम गराइदिन्छु भन्दै अनुचित लाभ लिन खोजेमा प्रमाणसहित प्रहरीमा उजुरी गर्न प्रहरी नायब उपरीक्षक पासवानले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : June 4, 2025 at 10:02 am