समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्ने समितिमा विज्ञको कोटामा गृहिणीलाई नियुक्ति
१६ जेठ, काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि गठन गरिएको समितिमा सहकारीको न्यूनतम ज्ञान समेत नरहेको व्यक्तिलाई विज्ञको कोटामा नियुक्ति दिइएको छ ।
नेकपा एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेललको सिफारिसमा प्रदेश सरकारले विज्ञको कोटामा गृहिणीको रूपमा रहनुभएको रामेछापको निशा न्याैपानेलाई नियुक्ति गरिएको हो । न्याैपानेसँगै विज्ञको कोटामा धादिङका नेत्र पाैडेललाई पनि नियुक्ति गरिएको छ । पाैडेल भने प्रदेश सहकारी ऐन, २०७६ को दफा ८२(१) अनुसार योग्य रहनुभएको व्यक्ति हो । न्याैपाने रामेछाप मन्थली नगरपालिका– १ की स्थायी बासिन्दा हुनुहुन्छ ।
ढुंगेलले गृह जिल्ला रामेछापकै भएको र निशाको परिवारसँग व्यवसायिक साझेदारी समेत भएका कारण सहकारीको विज्ञ नियुक्त गर्नुपर्ने कोटामा अहिलेसम्म सहकारी व्यवस्थापक समेत नभएको न्यौपानेलाई नियुक्ति दिलाएको बुझिएको छ ।
न्यौपानेको नियुक्तिको विषयमा विवाद हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियुक्तिको पत्र दिन समेत ढिलाइ भएको छ । न्याैपानेलाई विज्ञ बनाउन यसअघि कुनै एक बचत तथा ऋण सहकारी समितिको एक उपसमितिमा बसेर काम गरेको कागजपत्र तयार गरिएको स्रोतले जनाएको छ ।

न्यौपाने नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडमा सामान्य जागिरमा प्रयास गरेर असफल भएको तर अहिले विज्ञ सदस्य बनाएर महत्वपूर्ण समितिमा नियुक्ति दिएको भन्दै एमालेभित्र चर्को आलोचना सुरू भएको छ । रामेछापमा एमालेका नेता कार्यकर्ताले कैलाश ढुंगेल व्यक्तिगत सम्बन्धमा अघि बढेको बताएका छन । एमाले रामेछापका एक नेताले दैनिकीसँग भन्नुभयो, ‘सहकारीको विज्ञ चाहिनेमा ढुंगेलकै नजिकको मान्छेलाई नियुक्ति दिए पनि सरोकार भएकाहरू मध्येबाट सहकारीको न्यूनतम मूल्य मान्यता बुझेकोलाई नियुक्ति दिएको भए राम्रो हुन्थ्यो ।’
न्यौपानेको विषयमा नियुक्ति पत्र नै दिन विवाद भए पनि पछि अदालतमा विवाद पुगेमा सोही अनुसार गर्ने गरी आइतबार नियुक्तिपत्र दिने तयारी छ । बागमती प्रदेश सरकारले यही जेठ १३ गते मंगलबार सबेको बैठकले समितिमा विज्ञको कोटामा दुई जना सदस्य नियुक्त गरेको थियो ।
विक्रम संवत २०८० को पुस २२ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८२(१) अनुसार समितिको गठन गरी तीन सदस्य नियुक्त गरेको थियो । समितिलाई समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने अधिकार रहेको छ । समितिको अध्यक्षमा प्रभात अधिकारी हुनुहुन्छ ।
समाचार प्रकाशित भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले न्याैपानेको योग्यता पूरा गराएर नै सरकारी निकायमा नियुक्ति गराइएको दाबी गर्नुभएको छ । उहाँले नियुक्त भएको न्याैपाने एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघका कोषाध्यक्ष उज्वल सुवेदीको श्रीमति रहेको जानकारी दिँदै पार्टीभित्रैबाट नियुक्ति सिफारिस गरिएको बताउनुभयो । ढुंगेलले दाबी गरे पनि न्याैपाने सहकारीसँग सम्बन्धित विज्ञ भने होइन । न्याैपानेको प्रदेश सहकारी ऐन, २०७६ को दफा ८२(१) (घ) बमोजिमको विज्ञता रहेको छैन ।
प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १८:०४