इटाभट्टामा ज्यूदै मान्छे जलाउने कांग्रेस नेता अफताव आलमलाई उच्च अदालतको सफाइ
१४ जेठ, काठमाडौँ । इटाभट्टामा ज्यूदै मान्छे जलाउने नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालते सफाइ दिएको छ । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहट आदेश उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो ।
पहिलो संविधानसभको समयमा आलमले इटाभट्टामा ज्यूँदै नागरिक जलाएर हत्या गरेका थिए । २०७६ साल असोजमा सो मुद्दामा पक्राउ परेका थिए । सो मुद्दामा सुनुवाइ गर्दै २०८१ वैशाख १३ गते रौतहट अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

रौतहटको राजपुर बमकाण्डका आलमसहित चार जनालाई जन्मकैदको फैसला थियो । जन्मकैदको फैसला पाउनेमा आलमका भाइ महताब आलम पनि छन् । जन्मकैदको फैसला हुने अन्यमा शेष सेराज र बद्री सहनी छन् । रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोट गरी नागरिकको हत्या गरिएको थियो । बम बनाउँदै गर्दा विस्फोट भएपछि उक्त विस्फोटमा घाइते भएका स्थानीय पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ आलमले इटाभट्टामा जिउँदै जलाएको प्रहरीले बताएको थियो ।
प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार १८:२०