३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछः राप्रपा

१३ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ ।

राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह प्रर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चारजगत्सँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तीन पार्टीको घोषित उपत्यकाव्यापी आन्दोलन संविधान विरोधी नभई संविधानले दिएको सुविधाभित्रै रहेर शान्तिपूर्ण ढङ्गबाट हुनेछ ।”

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले अवलम्बन गरेका ‘एजेन्डा’ स्थापित गर्ने क्रममा हुन गइरहेको आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण आन्दोलनमा जनताको सहभागिताले राप्रपाको एजेन्डा स्थापित गर्न अन्य राजनीतिक दल र सरकारसँग वार्ताको वातावरण बनाउने छ ।”

राष्ट्रिय शक्ति अभियानका संयोजक केशरबहादुर विष्टले देशमा राजनीतिक स्थिरता र शान्ति सुव्यवस्थालाई सहज तुल्याउन आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागलाई जनदबाब सिर्जना गरी सम्बोधन गर्न आह्वान गरिएको आन्दोलनलाई सहयोग पुर्याउन सबैसँग अनुरोध गर्नुभयो ।

आन्दोनल परिचालन समितिका संयोजक नवराज सुवेदीले यही जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण, अंहिसात्मक र सत्याग्रहमा आधारित हुने विश्वास दिलाउनुभयो । उहाँले आन्दोलनलाई शान्तिपूर्ण तुल्याउन करिब दुई हजारको सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 27, 2025 at 4:56 pm