३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

अभिव्यक्ति दिँदा संयमित हुन प्रधानमन्त्री ओलीलाई आयोगको आग्रह

१२ जेठ, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायत क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन र आफ्ना विरोध तथा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।”

आयोगले देशको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरित हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ रहेको उल्लेख गरिएको छ ।

“शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध गरेको छैन, यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ”, विज्ञप्तिमा भनिएको छ, “जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मुठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानवअधिकारका मूल्य मान्यतासमेतको विपरीत हुन जान्छ ।”

आगामी २०८२ जेठ १५ गतेबाट राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको र सोको अनुगमनसमेत गरिदिन अनुरोध गर्दै आयोगमा जानकारीपत्र प्राप्त भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : May 26, 2025 at 8:06 pm