२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने एमाले सचिवालय बैठकको निर्णय

११ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ ।  ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

सातदशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वानसमेत गरिएको उहाँले बताउनुभयो ।

उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सबैलाई आह्वानसमेत गरेको छ । उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहतका कमिटीलाई निर्देश गरेको पार्टी महासचिव पोखरेलले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय सचिवालयको बैठक
ललितपुर, ११ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय च्यासलमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक

काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीको आयोजनामा सांस्कृतिक झाँकीसहित दिवसमा उत्सव आयोजना गरिने र त्यसका लागि झाँकीको संयोजन नेपाल जनसांस्कृतिक महासङ्घले गर्नेछ । सांस्कृतिक झाँकीको आवश्यक संयोजन पार्टी कार्यालयका तर्फबाट पनि गरिने छ ।

जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र ऐतिहासिक उपलब्धि रहेको अवस्थामा गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा पार्टीले जोड दिने महासचिव पोखरेलले बताउनुभयो । जनताको सम्प्रुभताविरुद्ध हुने कुनै पनि गतिविधि एमालेले स्वीकार नगर्ने भन्दै उहाँले गणतन्त्र जनताको सार्वभौम व्यवस्था भएको र त्यसलाई जनताको अधिकारका रूपमा स्थापित गर्ने काम भएको स्पष्ट पार्नुभयो ।

“गणतन्त्रलाई अझ सबल र सुदृढ बनाउनुपर्दछ भन्ने कुरामा अगाडि बढ्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ । जनताको अधिकार रक्षा, जनताले पाएका उपलब्धिको संरक्षण र गणतन्त्रलाई उत्सवको रूपमा मनाउने कुरामा पार्टीको ध्यान केन्द्रीत छ”, महासचिव पोखरेलले भन्नुभयो ।

प्रकाशित मिति : 21:51