युवा संघ महाधिवेशनः निर्वाचन अघि नै जिते सुमन पुरीले
११ जेठ, काठमाडौँ । नेकपा (एमाले) को जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा वर्तमान महासचिव सुमन पुरीले आफ्नो एजेण्डामा जित्नुभएको छ । पोखरामा जारी महाधिवेशनमा बालुवाटारको नियुक्ति भन्दै नयाँ कार्यसमितिको नाम टाँस्ने अध्यक्षमण्डलको योजना असफल पारेर पुरीले प्रतिस्पर्धाबाट नयाँ नेतृत्व स्थापित हुनुपर्ने मागमा विजय प्राप्त गर्नुभएको छ । पुरीको अडानसँगै अध्यक्षमण्डलले निर्वाचन समिति मार्फत मनोनयन लिन सुरू गरेको छ ।
योसँगै युवा संघको भावी नेतृत्वका लागि पुरीसँगै वर्तमान अध्यक्ष क्षितिज थेवेले समूह नै बनाएर प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । महेश बस्नेतले सिराहमा इन्द्रलाल सापकोटा र वुटवलमा निरज आचार्यालाई पराजित गरेपछि युवासंघले पहिलो पटक प्रतिस्पर्धाबाट नेतृत्व पाउँदै छ । त्यसका लागि वर्तमान महासचिव पुरीको अडानले काम गरेको छ । यस अर्थमा एजेण्डाको हिसाबमा पुरीले निर्वाचन आगवै जित्नुभएको छ ।
जनसंगठन समन्वय संयन्त्रका संयोजकदेखि युवा संघका सबैजसो पूर्व अध्यक्षहरू थेवेको विकल्प खोज्नुपर्नेमा थिए । अब निर्वाचन मार्फत नै नेतृत्व चयन हुनेभएपछि उनीहरूको भूमिका के हुन्छ भन्नेबारेमा मैदानमा देखिनेछ । पार्टीका तर्फबाट युवासंघका इन्चार्ज रहनुभएको राजिव पहारीले सुरूवात देखिनै सबैको आवाजको सम्बोधन हुनेगरी महाधिवेशन अघि बढ्ने बताउँदै आउनुभएको थियो । उहाँकै जोडमा निर्वाचनको प्रकिया अघि बढेको छ । योसँगै धेरै युवाले मतदान मार्फत आफ्नो क्षमताको परीक्षण गर्न पाउने भएका छन ।
यसअघि विराटनगरमा भएको प्रेस चौतारीको नियुक्ति सम्मेलनमा भने पार्टीका नेताहरूले निर्वाचन माग्नेलाई पार्टी छाडेर जान चेतावनी दिएका थिए । उनीहरूले निर्वाचन भए पार्टी अध्यक्ष नै हार्ने भन्दै प्रतिस्पर्धा पक्षधरहरू माथि पार्टी बिरोधीको आरोप लगाउँदै करिब १५ प्रतिशत प्रतिनिधिको समर्थन पाउने सम्भावना भएका गणेश पाण्डेलाई अध्यक्षमा नियुक्त गरेर राजेश राईलाई निषेध गरेका थिए ।
प्रकाशित मिति : 17:56









