१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

धितोपत्र बोर्डले १४ कम्पनीलाई आईपीओको पाइपलाइनबाट हटायो

६ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १४ वटा कम्पनीलाई आईपीओको पाइपलाइनबाट हटाएको छ । लामो समयदेखि आईपीओ निष्काशनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका १४ कम्पनीलाई धितोपत्र बोर्डले पाइपलाइनको सूचीबाट हटाएको हो ।

धितोपत्र बोर्डले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई आईपीओको पाइपलाइनबाट हटाएको हो । सार्वजनिक लेखा समितिले गत पुस १३ गते प्रति सेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो । यी कम्पनीले अब प्रतिसेयर नेटवर्थ ९० भन्दा माथि कायम गरेर सोको पुष्टि हुने कागजातसहित बोर्डमा पुनः आवेदन दिनुपर्नेछ ।

धितोपत्र बोर्डले सानिमा हाइड्रोपावर, रिचेट जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडल कम्पनी, पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, एपेक्स होस्पिटालिटी लिमिटेड, अर्चिड होल्डिङ्स, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एण्ड सुइट्स, एक्कर्ड फर्मास्युटिकल्स, सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकोप्टर कम्पनीलाई पाइपलाइनबाट हटाएको हो ।

प्रकाशित मिति : May 20, 2025 at 1:17 pm