११ असार २०८२, बुधबार | Wed Jun 25 2025

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन संसद्‌मा पेस

१ जेठ, काठमाडौं । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन संसद्‌मा पेस भएको छ । समितिका सभापति राज किशोर यादवले बिहीबार संसद्मा ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुभएकाे हाे ।

पर्यटन समितिका सभापति यादवले समितिको गठन भएदेखि हालसम्म ४० वटा बैठक सम्पन्न भएका बताउँदै ती बैठक नीति, कार्यक्रम, कार्यान्वयन र उपलब्धिको समीक्षामा केन्द्रित रहेका जानकारी दिनुभयो । उहाँले वैदेशिक भ्रमणलाई प्रभावकारी बनाउने, नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयकबारे समितिले निर्देशन गरेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषको अवस्था सुधारबारे पनि समितिले निर्देशन दिएको थियो । समितिका बैठक विभिन्न क्षेत्रका लागि महत्त्वपूर्ण भई सरकारका विभिन्न निकायलाई आवश्यक सुझाव, निर्देशन र ध्यानाकर्षण गराउने काम भएको सभापति यादवले बताउनुभयो ।

प्रतिनिधिसभा नियमावलीअनुसार समितिको कार्यक्षेत्रभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालय पर्दछन् । मन्त्रालयको कार्य, प्रभावकारिता बढाउन विधि निर्माण, उत्तर विधायिक परीक्षण, बजेटको अनुगमन, निर्देशन र छलफलमार्फत गुणस्तर निर्माण गर्ने कार्यादेशमा समिति रहेको उहाँको भनाइ छ ।

नेपालको अन्य मुलुकसँगको कुटनीतिक सम्बन्धका विविध आयामका साथसाथै मुलुकको संस्कृति, पर्यटन र नागरिक उड्ययनको सन्दर्भमा सरकारका काम कारबाहीको निगरानी तथा समस्या समाधानका लागि सहजीकरण गर्न समिति क्रियाशील रहेको छ । दुई पक्षीय सम्बन्धलाई सुमधुर बनाउन भारतसहित अन्य मुलुकमा भ्रमण गरी अनुभव र सिकाइ आदनप्रदान गरिएको छ ।

समितिले आगामी दिनमा समितिको र मातहतका निकायको काम कारबाहीलाई थप प्रभावकारी बनाउन अनुसन्धानमूलक कार्यमा सहकार्य गर्ने, सरकारका विभिन्न निकायलाई दिएको सुझाव एवं दिर्नेशन कार्यान्वयनलाई सुनिश्चित गर्ने, सरकार र सञ्चार जगत्बीच उचित समन्वय गर्ने र स्रोत साधनका लागि पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १७:०६