४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ
२४ वैशाख, काठमाडौं । ४० लाख रुपैयाँ बढी हुन्डी कारोबारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको कलकत्ता यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट पक्राउ गरेको हो ।
उनीहरुबाट ४० लाख ३२ हजार ५० अवैध रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
साथै, उनीहरूको साथबाट सामसङ कम्पनीको मोबाइल २ थान, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि.को चेक १९ थान, पास बुक–११ थान र हस्ताक्षर मात्र गरेको खाली चेक २ थान बरामद गरीएको बोहराले बताउनुभयो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १२:४४












