लामो राजनीतिक यात्राबाट जन्मिएको वितृष्णा र आत्मसमिक्षाः झण्डा भन्दा माथि विवेक
-माधवप्रसाद तिवारी
२४ वैशाख, काठमाडौँ । स्थापित राजनीतिज्ञ एवं साहित्यकार प्रदीप नेपाल ७१ वर्षको उमेरमा मंगलबार निधन भयो । लामो समय राजनीतिक गर्नुभएको उहाँ शत्रुता, धोका र स्वार्थको अर्को नाम राजनीति रहेछ भन्ने निष्कर्षसहित आफूलाई साहित्यकार भन्न बढी रूचाउनुहुन्थ्यो । उहाँले मृत्युपछि एमालेको झण्डा ओढ्न नचाहेको र श्रद्धाञ्जलीसभा पनि नराख्नुभनेर आत्मस्वीकृति दिएको कुरा अहिले चर्चामा छ । उहाँले करिब पाँच वर्षअघि नै निबन्धको पुस्तक मार्फत दिएको आत्मस्वीकृतिको अहिले निधनपछि थप चर्चा भैरहेको छ ।
लामो समय नेकपा एमाले हुँदै वामपन्थी राजनीति गरेका पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालले विक्रम संवत २०७८ मा सार्वजनिक भएको एक मानु हो चाहिने निबन्ध संग्रहमा आत्मस्वीकृति शीर्षकमा आत्मस्वीकृति शीर्षकमा सन्देश दिनुभएको थियो । उहाँको उक्त सन्देहले देशको राजनीतिक वृत्तमा तरंग ल्याएको छ। उनले भनेका छन्, “म मरेपछि मेरो शवमा पार्टीको झण्डा नराख्नुहोस्।” यो आग्रह मात्र थिएन, बरु यो पचासौँ वर्ष लामो राजनीतिक यात्राबाट जन्मिएको गहिरो वितृष्णा र आत्मसमीक्षाको दस्तावेज थियो। किनकी उहाँको निष्कर्ष नै थियो शत्रुता, धोका र स्वार्थको अर्को नाम राजनीति हो ।
प्रदीपको जीवन भनेको वाम राजनीति र साहित्यको संगम हो। २०४६ सालको परिवर्तनपछि उहाँ मन्त्री बन्नुभयो, संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ १ बाट पराजित हुनुभएको थियो । उहाँ पार्टीको नीतिगत बहसमा प्रखर चिन्तकको रूपमा चिनिनुहुन्थ्यो । उहाँले पछिल्लो एक दशकदेखि उहाँले विचार र अन्तर्वार्तामा वामपन्थी दलप्रति पनि आलोचना गर्नुभयो । उहाँले दलहरू सिद्धान्तबाट विचलन, पद–प्रलोभन, आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको दम्भले समस्यामा पर्दै गएको कुरा बताउनुहुन्थ्यो । योसँगै उहाँले नेता पद आफैँ त्याग गर्दै आफैँले झण्डा उढाएर संगठिन गरेको पार्टीबाट टाढिन थाल्नुभएको थियो ।

झण्डा भन्दा माथि विवेक
प्रदीप नेपालको राजनीतिक जीवन एउटा कालखण्डको प्रतिनिधि हो । जहाँ आदर्श बोकेर राजनीति सुरु गरियो, तर त्यस आदर्शलाई राजनीति आफैंले चिर्दै लग्यो । अन्ततः उहाँले झण्डाभन्दा माथि विवेक अर्थात विवेक मार्फत स्वतन्त्रता रोज्नुभयो । उहाँले आफ्नो अन्तिम सन्देशमार्फत आजको राजनीति गर्नेहरूलाई एउटा मौन प्रश्न समेत सोध्नुभएको छ ‘तपाईंको राजनीति विचारको हो कि पदको ?’
शवमा झण्डा नराख्न माग गर्नु भनेको केवल मृत्युपछि झण्डा नओढाउने कुरा होइन, त्यो माग प्रदीप नेपालको एक गहिरो चिन्तन हो । एक युगको समीक्षा हो, जुन समीक्षा जीवन सकिएपछि होइन, जीवनमै सजीव रूपमा उहाँले गरिरहनुभयो ।
विक्रम संवत २०७८ मा सार्वजनिक भएको एक मानु हो चाहिने निबन्ध संग्रहमा आत्मस्वीकृति शीर्षकमा नेपालले आफ्नो मृत्युपछि परिवारले ध्यान दिनुपर्ने कुरा उल्लेख गर्नुभएको थियो । आत्मस्वीकृतिमा यस्तो उल्लेख छ, ‘मेरो मृत्युपछि, मेरो परिवारले मेरो नाममा कुनै मृत्युकर्म नगरोस् । मृत्युपश्चात् फोन गरी गरी मलामी नबोलाओस् । पार्टी कार्यालय अथवा प्रज्ञा प्रतिष्ठानमा लासको प्रदर्शन पनि नगरोस् । मैले आँखादान गरिसेकको छु । काट्न बाँकी रहेका कुनै अङ्ग अर्को मानिसलाई कामलाग्छ भने त्यो पनि यही आत्मस्वीकृति मार्फत दान दिएको छु । मेरो नाममा श्रद्धाञ्जलीका कुनै कार्यक्रम आयोजना नगरिउन । मलामी खुवाउने काम गर्दै नगरियोस् । म एक्लै आँए, जिन्दगीको लामो हिस्सा एक्लै बिताएँ, आफैँ नेता भएँ, आफैँले नेता पद त्यागेँ, आफैँ साहित्यकार भएँ र जाँदा पनि म एक्लै जाने छु भन्ने सत्य मलाई थाहा छ । मेरो मात्र युग समाप्त हुने छ । अरू सबै यथावत् रहने छ । बाँचुन्जेल मैले मेरो स्वतन्त्रतालाई अक्षुण्ण राखेँ । म मर्दा पनि स्वतन्त्र भएरै मर्न पाउँ । लासको प्रशस्ती गाउने चलन छ नेपालमा । मेरो नाममा त्यो नगरियोस् किनभने मृत्युपछिको कुनै संसार हुँदैन भन्ने मलाइ थाहा छ । थाहा मात्र होइन विश्वास पनि छ ।’
पार्टीको झण्डाप्रतिको प्रतिकात्मक अस्वीकार
जीवन नै राजनीतिमा समार्पित गर्नुभएको एक जना चिन्तकले शवमा पार्टीको झण्डा नराख्न माग गर्नु कुनै सामान्य कुरा होइन। यो प्रतिकात्मक अस्वीकार हो राजनीतिप्रतिको । जहाँ उहाँले जीवन अर्पण गर्नुभयो अन्त्यमा त्यसमा न विश्वास रह्यो न त अपनत्व नै । जनताको बहुदलीय जनवाद ९जबज०को अनुयायी उहाँ एमाले जबजको अभ्यास कमजोर बनाउँदै लगेपछि थप असन्तुष्ट बन्नुभएको थियो ।
पार्टी व्यक्तिपूजामा रमाइरहेको र अवसरवादीहरूको अखडा बनेकोमा उहाँको मुख्य असन्तुष्टि थियो । हुनत उहाँले भन्नुभएको थियो । एमालेमा मदन भण्डारीबाहेक मेरो नेता कोही छैन । केपी ओलीले अध्यक्ष भएपछि त मलाई नेता मानिदिनुस् भनेर अनुरोध गरेको प्रसंग सुनाउँदै उहाँले केन्द्रविन्दु डटकमसँगको कुराकानीमा मैले प्रशिक्षण नलिएकाहरूलाई नेता मान्न सक्दिन भन्नभएको थियो । प्रदीप नेपाले यसरी वितृष्णा व्यक्त गर्दै मृत्युको पाँचवर्षअघि नै आफ्नै पुस्तकमा आमस्वीकृति राखेर एमालेको नाममा मृत्युपछि पनि प्रतिनिधित्व नचाहनु उहाँको विचारको शुद्धता र विवेकको नमूना हो। यद्यपी साथीभाइको करकापले उहाँले पार्टीको संगठीत सदस्यता भने नविकरण गरिदिनुभएको थियो । प्रदीप नेपालले राजनीतिका नाममा गुट–उपगुट, पद–अधिकार र स्वार्थको नाङ्गो प्रदर्शनप्रति निकै अप्ठ्यारो महसुस गर्नुभएको थियो ।
प्रकाशित मिति : 10:37













