२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

संचारिका संचारिकाकै रहोस्, न कुनै पार्टीको, न कुनै गुटको

-दीपा रेग्मी 

संचारिका समूह – पत्रकार महिलाहरूको साझा संगठन। उद्देश्य स्पष्ट – पत्रकार महिलाहरूको हक, अधिकार, सशक्तिकरण र व्यावसायिक सक्षमता। यो संस्था सधैं निष्पक्ष, स्वतन्त्र, र राजनीतिक प्रभावबाट टाढा रहने दाबी गर्दै आएको छ। तर पछिल्लो अधिवेशनका क्रममा भोगेको मेरो अनुभवले यो भनाइको कति आधार छ भन्नेमा गम्भीर प्रश्न उठाएको छ।

म संचारिका समूहको   साधारण सदस्य थिएँ।संचारिकाको केन्द्रीय अधिवेशन आउँदैछ भन्ने कुरा मलाई चैतमा थाहा थियो। अन्ततः वैशाख ५ मा अधिवेशन तोकियो। यस पटक मैले स्पष्ट रूपमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने निर्णय पहिले नै गरिसकेकी थिएँ – न कुनै संगठनको निर्देशनमा, न कुनै गुटको भाग भएर। पूर्णतः स्वतन्त्र, आफ्नो ईच्छाले। यो निर्णयसँगै मेरो सामाजिक, व्यावसायिक, र संगठनिक जीवनमा ठूलो आँधी आयो।म प्रेस चौतारीकी साधारण सदस्य हुँ। तर चुनावमा उठ्ने मेरा आकांक्षा सार्वजनिक भएपछि, चौतारीले आफ्नै उम्मेदवारको रणनीति बनाउन थाल्यो। संगठनले संचारिकाको चुनावको “समायोजन” गर्न चौतारीकी उपाध्यक्ष कृपा भण्डारीलाई जिम्मेवारी दिइएको रहेछ। उनी मेरी पुरानी साथी – सँगै पोखराबाट पत्रकारिता सुरु गरेका थियौं। उनैको समन्वयमा आकांक्षीहरुलाई बोलाएर दुईपटक मिटिङ भयो। पहिलोपटक आकांक्षा राख्ने कुरा मात्र भयो। दोस्रोपटक भने, हामीलाई छुट्टाछुट्टै बोलाएर एलायन्स बनाउने प्रक्रिया सुरु गरियो – एक किसिमको अन्तरवार्ता जस्तो।

त्यहाँ म अडिग थिएँ – म उम्मेदवारी दिन्छु। चाहे जुनसुकै हालत किन नहोस्। तर त्यहीँबाट सुरु भयो दबाब र हस्तक्षेपको श्रृंखला। म प्रेस चौतारीसँग आवद्ध थिएँ, तर चुनावमा मैले चौतारीको एलायन्स नमान्दा मलाई तत्कालै व्यवस्थापन गर्न थालियो। लगातार दुईपटक मिटिङमा उपस्थित भएर मलाई फिर्ता हुन दबाब दिइयो ।

चुनावी प्रक्रियामा संगठनभित्रकै मानिसहरूले मलाई उम्मेदवारी फिर्ता लिन दबाब दिए। साथी भएर, हाकिम भएर, मित्रताको आडमा। उल्लेख्य कुरा, मलाई उम्मेदवारी नदिन प्रेरित गर्ने प्रयासमा मेरो साथीको पदसँगै बार्गेनिङ भयो। मैले साथ नदिएँ भने उसलाई केही नपाउने संकेत दिइयो। मलाई दुःख लाग्यो – साथीभाइलाई आफ्नै विरुद्ध प्रयोग गरियो। जहाँ भावनालाई औजार बनाइयो। मित्रता नाफा-नोक्सानको समीकरणमा घुलमिल भयो। म संचारिकामा स्वतन्त्र रुपमा उठेकी थिएँ। तर मलाई जबरजस्ती कुनै गुटसँग जोडियो। पुरुषसञ्चालित प्रेस संगठनहरूले महिलाको संस्थामा आएर गुटबन्दी गरे। एलायन्स बनाए। भोट निर्देशित गरियो। उही लोकतन्त्रको नाममा लोकतन्त्रकै हत्या गरियो। तर यति सबैका बीचमा, मैले चुनाव जितें – केन्द्रीय सदस्यको रुपमा। संगठनको घोषणाले होइन, साथीहरूको विश्वास र मतले। मत माग्दा धेरैले ममाथि विश्वास राखे, भोट दिए। तर जितेपछि धेरै साथीहरूले नजर मोडिदिए। शुभकामनाको शब्द पनि थोरैबाट मात्रै आयो।

चुनाव सकिएपछि पनि त्यो तनाव हटेन। साथीहरूको व्यवहारमा परिवर्तन आयो – कुनै दुश्मन झैँ व्यवहार हुन थाल्यो। एउटा साधारण उम्मेदवारीले यति धेरै मनमा चोट पुर्‍याउँछ भन्ने कहिल्यै सोचेको थिइनँ। मलाई लाग्यो – हामी लोकतन्त्रको नाममा भाषण गर्छौं, तर व्यवहारमा त्यसको सिकार हौं।

चुनावमा जनमतले जितेँ। यसले  संगठनका केही  नेताको अहंममा ठेस लाग्यो होला। त्यसपछि सुरु भयो अचम्मको ‘कारबाही’ प्रक्रिया। प्रेस चौतारीले मलाई पार्टी र संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्‍यो। अचम्म त के भने यो कारबाही कुनै विधान, कुनै प्रक्रिया र कुनै संस्थागत निर्णय बिना गरियो। न बैठक बसाइयो, न त स्पष्टीकरण सोधियो, न त निर्णय सुनाइयो। चुनावको दिन म चुनावी मैदानमा हुमिएको बेला सामाजिक सञ्जालमा  चौतारी का  महासचिवको हस्ताक्षरमा एउटा साधा कागज पोस्ट गरियो – गठनले यो नाम भएका व्यक्तिहरूलाई कारबाही गरियो भनेर । “यिनीहरूलाई कारबाही गरियो।” न छाप, न लोगो,  न औपचारिक पत्र। के यही हो त नेतृत्व गर्ने शैली? के यस्ता कागजातबाट मान्छे निकालिन्छन्? अनि भनिन्छ, हामी अनुशासित संगठन हौं! अनि भनिन्छ हामी विधि र प्रक्रियामा चल्छौं। अचम्मको विधि र प्रक्रिया।

तस्बिरमा लेखक रेग्मी र सञ्चारिका समूहको लोगो ।

चुनावपछि संस्थाले संचारिका टिमलाई बधाई दिइरहेको थियो। तर त्यो शुभकामना पनि ‘छानेर’ दिइन्थ्यो। दुई जनाको नाम नलिने प्रतिबन्ध।  प्रेस चौतारी भित्र रहेका कोही साथीले नाम लिएर सामाजिक सञ्जालमा पोस्ट गरियो भने बधाई दियो भने तुरुन्त संगठनबाट कारबाहीको धम्की। कतिपयले व्यक्तिगत रूपमा म्यासेज लेखे – “हामीलाई  नाम लिएर राख्नलाई रोक लगाएको छ। माफ गर्नुहोस्।”  है भन्दै म्यासेजमा शुभकामना दिँदै थिए। फेसबुकमा पोस्ट गर्दाखेरि  सम्पूर्ण कार्यसमितिको नाम राखेर दुईजना केन्द्रीय सदस्यको  ‌ नराखेर शुभकामना दिएका थिए। जसमा दुईजना सदस्यको मात्र नाम राखेका थिएनन्। के यही हो स्वतन्त्र संस्थाको संस्कार?   चुनाव जित्दा पनि अपमान, बहिष्कार र बहिष्करण? वाउ कस्तो लोकतान्त्रिक  संगठन।

नेतृत्वमा पुगेर जो कोहीलाई समेट्ने, बहस र मतभेदलाई सम्मान गर्ने हो – यो होइन कि आफ्नो गुटको बिरुद्धमा बोल्ने/उठ्नेहरूलाई निकाल्ने? प्रेस चौतारीले अहिले जे गरिरहेको छ – त्यो आफ्नै संस्थागत गरिमा, लोकतन्त्र र स्वतन्त्रताको खिल्ली उडाउनु हो। एउटा स्वतन्त्र उम्मेदवार उठ्दा डराउने संगठन, कागज बिना कारबाही गर्ने नेतृत्व।

संचारिका कुनै पार्टीको संगठन होइन। यहाँ गुटले होइन, दृष्टिकोणले नेतृत्व हुनुपर्छ। नेतृत्वमा पुगेपछि सबैलाई समेट्ने कला आवश्यक हुन्छ। निर्वाचन त एउटा प्रक्रिया हो – त्यसपछि नेतृत्व समेट्ने, जोड्ने, विश्वास दिलाउने प्रक्रिया सुरु हुन्छ। बहिष्कार र उपेक्षाबाट होइन, सहकार्य र समावेशीताबाट संस्था बलियो हुन्छ।    संगठन बनाउनु छ भने समावेशी बनाऔँ, समन्वय बनाऔँ – गुट होइन। लोकतन्त्र बनाऔँ – देखावटी होइन, व्यवहारिक। यिनै शब्दका साथ मेरो अनुभवलाई साझा गर्दै छु – यस आशामा कि भोलिको संचारिका अझ बलियो, निष्पक्ष र समावेशी बन्न सकोस्।

म आशा गर्छु – भोलिका दिनमा संचारिकामा राजनीति होइन, पत्रकारिता हावी होस्। संस्थागत गरिमाको रक्षा होस्। स्वतन्त्र आवाजहरूलाई सम्मान गरियोस्। म संचारिका समूहमा कुनै गुटको हिस्सा नभइ स्वतन्त्र उम्मेदवारका रूपमा उठें, जितें पनि। मेरो यो यात्रा म एक्लै थिएँ भन्ने होइन — थुप्रै साथीहरूले मलाई साथ दिनुभयो। मलाई भोट दिएर जिताउने साथीहरूलाई म दिलदेखि आभार प्रकट गर्न चाहन्छु। तर यो यात्रा सजिलो थिएन।

अन्त्यमा म भन्न चाहन्छु — संगठन बनाउनु, नेतृत्व गर्नु सजिलो कुरा होइन। तर जब संस्थामा इथिक्सको चिह्न पनि देखिन्न, जब आफ्नो साथीलाई दुश्मन बनाइन्छ, तब विद्रोह अनिवार्य हुन्छ। र त्यो विद्रोह मैले गरें। म अझै पनि आशा गर्छु — एकदिन संचारिका समूह साँच्चै स्वतन्त्र, निष्पक्ष, र महिलाको आवाज उठाउने साँच्चिकै मञ्च बन्न सकोस्।

रेग्मी सञ्चारिका समूहको नवनिर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार १०:४५