१ असार २०८३, सोमबार | Mon Jun 15 2026

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री लेखक

१२ वैशाख, ललितपुर । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफै जोखिम निम्त्याउन नहुने बताउनुभएको छ । गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र त्यसले पु¥याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले निर्माण गरेका भौतिक संरचना बलिया हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्नुपर्छ । विपद्मा खोज उद्धार र राहत प्रतिकार्य गर्न आवश्यक छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले विपद्पछिको पुनःनिर्माण, खोज, उद्धार र राहातका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गर्नुभयो । “पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, हामी जोखिमपूर्ण भू–भागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्छ ।” उहाँले भन्नुभयो । विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन कार्यमा ललितपुर महानगर अब्बल रहेको दाबी गर्नुभयो । “एउटै छानामुनी विपद्का सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेका छौँ, विपद्मा चार मिनेट भित्रै महानगरबाट सेवा प्रदान गर्छौँं, काम गरिरहेका पनि छौँ”, उहाँले भन्नुभयो । विपद्बाट पाटन दरबार क्षेत्रमा धेरै मन्दिर तहसनहस भएका उल्लेख गर्दै उहाँले अधिकांश मन्दिर पुनःनिर्माण गरिएका बताउनुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का वरिष्ठ उपाध्यक्ष हारा शोहेईले विपद्को समयमा तीव्र रुपमा काम गर्न सक्ने तयारी तथा बलियो एकता जरुरी रहेको बताउनुभयो । उहाँले जापान सरकार तथा जाइकाले नेपाल र नेपालीलाई गर्दै आएको सहयोग निरन्तर जारी रहने बताउनुभयो । नेपाल र जापानको उस्तै भौगोलिक परिस्थिति रहेको उल्लेख गर्दै उहाँले पुनःनिर्माण र पूर्वाधार निर्माणलाई भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपालका लागि जापानका राजदूत मायदा तोरूले विपद्मा हामीले भोग्नुपरेको पीडा र विगतको कमजोरी सुधार गरेर विपद्मा सुरक्षित रहन सन्देशमूलक कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद् फेरि नआओस् भन्नका निम्ति प्रकृतिको नियमलाई पालना गर्न प्रतिबद्धता जनाउन तथा सचेत रहनका लागि सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रकाशित मिति : April 25, 2025 at 12:52 pm