शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद बैठक सञ्चालन गर्ने निर्णय
१० वैशाख, काठमाडाैं । शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन दिन संसद बैठक चल्ने भएको छ। सभामुख देवराज घिमिरेले बुधबार प्रमुख सचेतकहरूसँगको छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।
सोहीबमोजिमको तालिकाबारे यही वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । ‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ। शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ। उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ,’ उहाँले भन्नुभयाे
उपसमितिले यही वैशाख २३ सम्मको समयावधिभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिनेगरी संसद्ले तयारी गरेको जनाउँदै सभामुख घिमिरेले जुनसुकै दिन विधेयक संसद्मा प्रस्तुत गर्नेगरी तालिका सुरक्षित गर्ने उल्लेख गर्नुभयो । “उपसमितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामतीलगायत विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : 14:49









