५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


२२ पुस, काठमाडाैँ । नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१९’ को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १७ भन्दा बढी मुलुकको सहभागीतासहित स्वदेशी र विदेशी गरी करीब १०० वक्ताले भाग लिने मार्टको कार्यान्वयन इकाइको रूपमा काम गरिरहेका संस्था नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले दैनिकीलाई जानकारी दिए ।

दक्षिण सियाली मुलुकका सात वटा देशका एक सय भन्दा बढी निवेदन प्राप्त भएकोमा ५० वटा क्रेताहरू छनाैट गरिएको अध्यक्ष पाण्डेले बताए । उनले  अन्तराष्ट्रिय मिडिया र व्लगरहरू ६० वटाबाट निवेदन प्राप्त भएकामा  १५ जना छनाैट गरिएको बताए । यस्तै सम्मेलनम विभिन्न देशका नेपाली राजदूतहरू पनि सहभागी हुनेछन ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा अोलीले गर्ने र उद्घाटन सत्रको वक्ताको रूपमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रहनु रहेकाे अध्यक्ष पाण्डेले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सरकारी एवं निजी क्षेत्रका विभिन्न पर्यटन सङ्घ–संस्थाको कार्यक्रम कार्यान्वयन एकाइका रुपमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मार्टको आयोजना गरेको हो ।

नेपालमै पहिलोपटक आयोजना हुन लागेको यस व्यावसायिक सम्मेलनले सम्पूर्ण पर्यटन व्यवसायीलगायत नेपाली पर्यटन क्षेत्रकै शिर उच्च पार्नुका साथै विश्व बजारमा समेत नेपालाई बौद्ध पर्यटन केन्द्रका रुपमा स्थापित गर्न सहयोग पुग्ने नाट्टा अध्यक्ष पाण्डेको विश्वास रहेको छ ।

सम्मेलनको व्यावसायिक जमघट बिटुबी सत्रहरु भैरहवास्थित होटल टाइगर प्यालेसमा सञ्चालन गरिने सचिवालयका सदस्यसचिव अच्युत गुरागाइँले जानकारी दिए । उनका अनुसार मार्टमा बौद्ध पर्यटनको साथै व्यावसायिक पर्यटनको छलफल तथा अन्तक्र्रिया गरिने र सम्बद्ध विज्ञले प्रस्तुति दिनेछन् । यो कार्यक्रमले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार १०:४५