१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

आज ३ कम्पनीको साधारण सभा बस्दै, यी प्रस्ताव पारित हुँदै

८ चैत, काठमाडाैं। आज विभिन्न ३ वटा कम्पनीहरूकाे साधारणसभा बस्दै छ । आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त र सिन्धु विकास बैंककाे साधारण सभा बस्दै छ ।

आज सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको ८ औं वार्षिक साधारण सभा काठमाडाैंको नयाँ बानेश्वरमा रहेको अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १.२४८९ बोनस सेयर गरी कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत पूँजी ५ अर्ब २ करोड कायम गर्ने, बोनस सेयर वितरणपश्चात हुने सेयर संरचनाबमोजिम जारी तथा चुक्तापूँजी वृद्धि गरी ५ अर्ब १ करोड ४९ लाख पुर्याउने, कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरबाट परिवर्तन गरी नक्साल कायम गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्चहरु अनुमोदन गर्ने, समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने र आव २०८१/८१ को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत फागुन २६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसकाे अर्थ फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

त्यस्तैगरी, आजै सिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा काभ्रेको धुलिखेलमा रहेको मिराबल होटल एण्ड रिसोर्टमा बस्दैछ । सभामा राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्तापूँजी रु १२० करोड पूरा गर्न पहिलो चरणमा हाल कायम रहेको चुक्तापूँजीमा २ः १ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर दिने) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक अन्य प्रकृया पूरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले गत फागुन १५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।

साथै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा धरानमा रहेको गोर्खा होटलमा बस्दैछ । सभामा संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने, सेयर परिणत गरे पश्चात् कायम हुन आउने समूहगत सेयर संरचना अनुसार संस्थाको समूहगत सेयर स्वामित्व संरचना परिवर्तन गर्ने र संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप/संशोधन गर्ने विशेष प्रस्ताव लगायतका एजेण्डाहरू पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले गत फागुन २८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

प्रकाशित मिति : March 21, 2025 at 9:26 am