२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

२५ करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न माओवादीको माग

६ चैत, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब रु २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नगदसहित एक जनालाई पक्राउ गरेको थियो । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट चालकसहित उक्त रकम बरामद गरिएको जनाइएको छ ।

सांसद सोपकोटाले भन्नुभयो, “डलर र यूरो गरेर करिब रु २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ, यो घटनाले सिङ्गो देशलाई तरङ्गित बनाइरहेको छ । यो घटनाले सङ्गठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झाङ्गिरहेको छ भन्ने प्रष्ट हुन्छ ।”

“हिजो मात्रै यूरो र डलर गरी रु २५ करोड बोकेको ट्रक बरामद भएको छ, के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो ?”, सांसद रोशन कार्कीले प्रश्न गर्नुभयो । उहाँले दिनप्रतिदिन तस्करहरूको जालोमा मुलुक फसिरहेको भन्दै उक्त जालो भत्काउन अपराधसम्बन्धी घटनामा निष्पक्ष भएर छानबिन गर्न माग गर्नुभयो ।

प्रकाशित मिति : 13:27