सधैँ ट्वाँ पार्ने देखावटी समाज र हाम्रो मानसिकता
-माधवप्रसाद तिवारी
हाम्रो नेपाली समाजमा बाहिरी आवरणको महत्त्व भित्री यथार्थभन्दा धेरै राखिन्छ। मानिसको पहिरन, बोलीचाली, धनसम्पत्ति र देखावटीपनलाई बढी प्राथमिकता दिने संस्कृतिले वास्तविकता भन्दा भ्रम बेच्ने र बिक्ने प्रवृत्तिलाई मलजल गरेको छ ।
म स्वयं यसको एउटा उदाहरण हुँ। यो कुनै कल्पनाको कथा होइन, मेरो प्रत्यक्ष अनुभव हो। दुईवटा घटनाक्रम यहाँ उल्लेख गर्न चाहन्छु ।
पहिलो,
मैले अल्लोको एक कोट लगाएको छु, जुन संखुवासभाबाट एकजना दिदीले उपहारस्वरूप ल्याइदिनुभएको थियो । साथी लक्ष्मण डंगोलको चिनजान मार्फत मैले बागबजारको गोर्खा टेलर मा ६ हजार रूपैयाँ तिरेर सिलाएको थिएँ । समयसँगै एक दिन, चिसो मौसममा, कार्यालयको हिटरको तापले कोटको दायाँ काखीछेउमा सानो प्वाल बनाइदियो।
आमासमान दिदीले दिएको यो कोट मलाई अत्यन्त प्रिय थियो । फ्याँक्ने सोच्न पनि सक्दिनथेँ । प्वाल परेकै कोट वा त्यही प्वाल एक ठाउँमा मात्र टालेर पनि लगाउन सक्दिन थिएँ, समस्या थियो— समाज
सामान्यतया, मैले कार्यालयमा छिर्दा कोट कुर्सीको पछाडि झुण्ड्याउँछु । प्वाल परेको कोट लगाउँदा कतै ‘हेर्नुस् न, माधवजीले कस्तो पुरानो कोट लगाउनुभएछ !’ भनेर चर्चा नहोला भन्ने थिएन ! एउटै ठाउँमा टालो लगाएँ भने ‘पाखे भयो’ भन्नेहरू प्रशस्तै भेटिन्थे । हुन त, म पहाडको पाखामा हुर्किएको मान्छे हुँ, पाखे नै हुँ तर शहरी समाज र साथीहरूको सोच बुझ्थें ।
मैले समस्या समाधानको उपाय खोजेँ ।
मैले एउटा मात्र प्वाल नटाली चारवटा ठाउँमा टालो लगाएँ । यसका लागि मैले फेरि २ हजार रूपैयाँ खर्च गरेँ । अब कोट ‘पुरानो टालेको’ देखिएन, बरु ‘फेसन’ जस्तो देखियो । अचानक, समाजले जसले पहिले टालिएको कोटलाई हेप्थ्यो, अब त्यसलाई नयाँ शैलीका रूपमा सहजै ग्रहण गर्यो ।
विभिन्न कार्यक्रममा मैले यो कोट लगाएर गएँ । साथीहरूले सोधे— ‘यो कस्तो नयाँ फेसन हो ?’ केहीलाई सत्य बताएँ, तर सबैलाई विस्तृत व्याख्या दिन गाह्रो हुन्थ्यो। त्यसैले हाँसेर जवाफ दिन्थेँ— मेरो ‘बुटिक फेसन हो !’ प्रश्न पनि स्वभाविक नै हुन्थ्यो किनकी बजारमा फेशन भनेरको चलेको प्राय कोटहरूमा कुइनोमा ल्यादरको टुक्राले टालेको हुन्थ्यो । तर मेरो कोट छाती र काखी छेउमा टालिएको थियो ।
समाजमा भ्रम नै सबैभन्दा महँगो वस्तु बनेको छ । मान्छेहरू सत्यभन्दा देखावटीपनलाई महत्त्व दिन्छन् । एउटा राम्रो गुणस्तरको कपडा भए पनि पुरानो देखियो भने लाज मान्छन्, तर ब्रान्डको ट्याग भएको सस्तो कपडा भए पनि गर्व गर्छन् ।समस्या कोटको थिएन, समाजको सोचाइको थियो । हामी वस्तुको गुणस्तरभन्दा आवरणलाई, मानिसको व्यक्तित्वभन्दा पहिरनलाई प्राथमिकता दिन्छौँ । बाहिरी स्वरूपकै आधारमा मानिसको मूल्यांकन गर्ने हाम्रो संस्कार बलियो हुँदै गइरहेको छ।
हामीले देखावटीपनको खोल च्यात्नुपर्छ। वस्तुको मूल्य ब्रान्डले होइन, गुणस्तरले निर्धारण गरोस्। मानिसको मूल्य उसको पहिरनले होइन, विचार, नैतिकता र कर्मले तोकियोस्। सत्यभन्दा भ्रम बढी बिक्छ, तर हाम्रै सचेतताले सत्यलाई पुनः स्थापित गर्न सक्छ। जबसम्म हामी देखावटीपनको खोलबाट मुक्त हुँदैनौँ, वास्तविक मूल्यबोधको समाज निर्माण असम्भव छ।
दोस्रो,
हाम्रो समाजमा “के गर्ने, के नगर्ने” भन्ने नियमहरू पहिले नै कोरिएका छन्, जसलाई हामी संस्कारको नाम दिन्छौँ । बोल्ने शैली, हिँड्ने तरिका, रमाउने सीमा—सबै समाजकै आँखाले तोक्छ । जब कोही ती परम्परागत सीमारेखाहरू पार गर्छ, ऊ आलोचनाको पात्र बन्छ । तर जिन्दगी अरूका लागि होइन, आफ्नै लागि जिउनुपर्छ भन्ने बुझाइले मात्र हामीलाई साँच्चै स्वतन्त्र बनाउँछ भन्ने मेरो मान्यता छ । म काम गर्दा होस वा रमाउँदा हरेक समय उन्मुक्त भएर जीउने अभियानमा छु ।
तीन पुस्ता एउटै छानामुनि बस्ने हाम्रो परिवार निकै खुला छ, जहाँ आदर र सम्मान देखाउने मात्र कुरा होइन, आपसी समझदारी नै प्रमुख आधार हो । हाम्रो परिवारभित्र “तपाईं नै भन्नुपर्छ” भन्ने कुनै कृत्रिम औपचारिकता छैन । एकले अर्कोलाई जुनसुकै कुरा भन्न सक्छ, आफ्ना भावनाहरू स्वतन्त्र रूपमा व्यक्त गर्न सक्छर त्यसले कसैको चित्त दुख्दैन । प्रेम, आपसी समझदारी र रमाइलो खुला रूपमा बाँडिन्छ । हाम्रो मान्यता पनि यही छ कि जीवन आफ्ना लागि बाँच्ने हो अरूलाई देखाउने बाँच्ने हैन ।
कतिपय अवस्थामा हामीले यस्ता अनुभवहरू समाजका लागि सामाजिक सञ्जालमार्फत बाँड्ने गर्छौं । अझ बढी मेरो दाजु भुमराज तिवारीले यस्तो कुरा फेसबुक र युट्युब मार्फत बाँड्ने गरेको छ । तर हाम्रो समाजमा यस्ता कुराहरूलाई “अप्रिय प्रदर्शन” मान्ने गरिन्छ । बाटो भेट्दा साथीहरूले निःशुल्क सुझाव दिनुहुन्छ र हिजो त्यो चाहिँ नगरेको भए हुन्थ्यो भनिहाल्नुहुन्छ । यो हाम्रो सामाजिक परिवेशकै उपज हो भन्ने मेरो ठम्याइ हो ।
जब मैले मेरी श्रीमतिको खुट्टामा तेल लगाइदिएको भिडियो फेसबुकमा पोस्ट गर्छु वा आमाले र सासुले मलाई संयुक्त रूपमा तेल लगाइदिएको भिडियो राख्छु, धेरै साथीहरूले आलोचना गर्दै भन्छन् “तँ एमफिल गरेको मान्छेले यस्तो भिडियो हाल्न लाज मान्नुपर्छ ।” तर प्रश्न उठ्छ—के परिवारभित्रको स्नेह प्रदर्शन गर्नु गलत हो ? के माया देखाउन पनि समाजको अनुमति लिनु वा भर पर्नुपर्छ ?
म पत्रकारितामा रहेका कारण सामाजिक सञ्जालमार्फत विभिन्न विषयमा बहस चलाउने प्रयास गर्छु। अझ बढी, मिडिया कन्टेन्टबारे सचेत छलफल होस् भन्ने चाहन्छु। त्यसैले, मैले देखेका, भोगेका केही घटनाहरू स्क्रिनसट गरेर आफ्ना विचार राख्छु। तर साथीहरू भेट्दा उही प्रश्न उठ्छ—”तँ त एमफिल गरेको मान्छे, यस्ता साना कुरामा किन अल्झिन्छस् ?” म ट्वाँ पर्छु । कति जनालाई सम्झाउने ? कति जनालाई जवाफ दिने ? बारम्बार आउने एउटै प्रश्नको जवाफ कति दिने ?
मलाई लाग्छ, समाजको सोच बदल्ने जिम्मेवारी हामीजस्तै व्यक्तिहरूले लिनुपर्छ । परिवर्तन एकैपटक आउँदैन, तर जब कोही अगाडि बढ्छ, त्यसले अरूलाई पनि बाटो देखाउँछ । धेरै साथीहरूले मलाई भने, “तेरा कारणले अब मैले पनि श्रीमतिसँग खुलेर हिँड्नुपर्यो, रमाउनुपर्यो, सँगै टिकटक बनाउनुपर्यो !” समाजमा यस्ता उदाहरण थपिँदै गए भने भोलि पारिवारिक प्रेम देखाउन कसैले लाज मान्ने छैन । जसका कारण प्रेमको अभावमा घरभित्र बन्दी भएर बसेकाहरूलाई खुला आकासमा निस्कन प्रेरित गर्छ । अन्नपात नभएर घरमा ’मुसा‘ पनि नभएकाहरूले मेरो घरमा ‘सुनको हात्ती’ छ भन्दै बाँड्ने भम्रको समेत अन्त्य हुनेछ । अर्थात सबैले स्वतन्त्र भएर उन्मुक्त जिन्दगी जिउने वातावरण हाम्रो समाजमा बन्दै जानेछ ।
हाम्रो जिन्दगी अरूका सोचअनुसार होइन, आफ्नै आत्मसन्तुष्टिका लागि जिउनुपर्छ । जबसम्म हामी स्वतन्त्र हुन सक्दैनौं, तबसम्म समाज पनि स्वतन्त्र हुँदैन । त्यसैले, परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्छ यो भन्ने कुरा हैन गर्ने कुरा हो भनेर समाजमा स्थापित गारौँ । जुन हाम्रो परिवारले लामो समयदेखि प्रायस गर्दै आएको छ । उन्मुक्त भएर बाँचौं, रमाऔं, अनि समाजलाई नयाँ दिशा दिन सकौं ! समाजका लागि आर्थिक लगानी बिनानै ‘मल र मुत्र’बाहेक पनि योगदान गर्न सकिन्छ भन्ने अवस्था बनाउन लागौँ ।
अन्त्यमा,
हाम्रो समाजमा बाहिरी स्वरूपलाई बढी महत्त्व दिने मानसिकता गहिरोसँग जरा गाडेर बसेको छ । कोट टाल्दा ‘पाखे’ देखिने तर त्यसलाई ‘फेसन’ बनाएर प्रस्तुत गर्दा सम्मानित हुने सोच यसकै एक सानो उदाहरण हो । त्यस्तै, पारिवारिक प्रेम वा आत्मीयता प्रदर्शन गर्नुलाई ‘अप्रिय प्रदर्शन’ भन्ने तर कृत्रिम औपचारिकतामा रमाउने प्रवृत्ति पनि यही मानसिकताको अर्को पाटो हो । समाजले देखावटीपनलाई बढी महत्त्व दिने भएकाले हामी आफ्नो वास्तविकता ढाकछोप गर्न विवश छौँ।
हाम्रो जिन्दगी अरूलाई देखाउनका लागि होइन, आत्मसन्तुष्टिका लागि बाँच्नुपर्छ । जबसम्म हामी अरूको मूल्यांकनमा परेर जिन्दगी जिउँछौं, तबसम्म हाम्रो स्वतन्त्रता सीमित हुन्छ । चाहे पहिरनको कुरा होस् वा पारिवारिक सम्बन्धको, वास्तविकता स्वीकार्न सक्ने हिम्मत राख्नुपर्छ । समाजको सोच बदल्ने जिम्मेवारी हामी आफैंले लिनुपर्छ । परिवर्तन एकैपटक आउँदैन, तर जब कोही अघि बढ्छ, त्यसले अरूलाई पनि बाटो देखाउँछ । र विस्तारै पछि लाग्नेको भीड हुनेछ ।
त्यसैले, हामीले बाहिरी देखावटीपनको खोल फुकालेर वास्तविक जीवनशैली अपनाउनुपर्छ । वस्तुको मूल्य त्यसको ब्रान्डले होइन, गुणस्तरले निर्धारण गरोस् । मानिसको मूल्य पहिरनले होइन, विचार, नैतिकता र कर्मले तोकियोस् । पारिवारिक सम्बन्धमा प्रेम र आत्मीयता लुकाउनु पर्ने होइन, खुलेर अभिव्यक्त गर्न सक्नुपर्छ । त्यसैले, परिवर्तनको सुरुवात आफैंबाट गरौं—साँचो अर्थमा स्वतन्त्र भई बाँच्ने प्रयास गरौं ! भोलि र पर्सिभन्दै मृत्युपछिको समेत चिन्ता गरेर नबसौँ जीवनका हरेक पल उन्मुक्त भएर बाँचौँ ।
प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलवार २१:३४