५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

प्रेमका कारण एमालेमा तनाव, जनार्दन ढकालले छाडे एमाले

२३ फागुन, काठमाडौँ । नेकपा (एमाले) रसुवामा केही महिना अघि निर्वाचित जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टीको संगठीत सदस्य समेत नरहनेगरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ । हाइड्रोपावर चन्दा विज्ञका रूपमा परिचित र विभिन्न ठगीको मास्टरमाइन्ड कहलिएका प्रेम तामाङलाई एमाले प्रवेश गराएर केन्द्रीय सदस्यको जिम्मेवारी दिएपछि रसुवाको एमालेमा तनाव सिर्जना भएको थियो ।

एमाले उपमहाचिव विष्णु रिमालको विशेष पहलकदमीमा एमाले प्रवेश गर्नुभएको तामाङले पार्टी प्रवेश लगत्तै एमाले केन्द्रीय सदस्य र रसुवा इन्चार्जको जिम्मेवारी समेत पाउनुभएको थियो । तामाङको करोडौँ ठगीको विषयमा छरपस्ट रहेकै समयमा एमाले प्रवेश गराएर रसुवाको इन्चार्ज बनाएदेखि नै पार्टीमा समस्या देखिएको रसुवा एमालेका एक प्रभावशाली नेताले दैनिकीलाई जानकारी दिए ।

पछिल्लो पटक पार्टीको जरा अभियानको नाममा रसुवामा हरेक कार्यक्रममा विवाद उत्पन्न भएपछि अभियान नै स्थगित गरिएको थियो । रसुवाको पार्टीमा देखिएको विवादका बारेमा एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले मध्यरातमा प्रधानमन्त्री निवासमै पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर जानकारी गराउनुभएको थियो । चारवटा पार्टीको अनुभव बुटुलीसकेका प्रेमको विज्ञता जानेर नै एमाले प्रवेश गराएको र उहाँकै कारण सिर्जना भएको समस्या भएपछि एमालेको मुल नेतृत्वले त्यसको समाधानका लागि खास चासो नदिएको रसुवाका एमाले नेताहरूको बुझाइ छ ।

ढकाल संविधानसभा सदस्य समेत हुनुहुन्छ। ढकालले हिमालय टेलिभिजनका पत्रकार रामचन्द्र अर्यालसँग कुराकानी गर्दै पार्टी छाडेको घोषणा गर्नुभयो । उहाँले अर्यालसँग भन्नुभएको छ, ‘पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरे । पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन । रसुवामा जराकेन्द्रित अभियान रोकिएको छ । किन रोकियो भनेर पनि मैले भनेको छु ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार १७:०१