३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

चन्द्रागिरीको कबाड कारखानामा लागेको आगो सात वटा दमकलको सहायतामा नियन्त्रण

२३ फागुन, काठमाडौँ । चन्द्रागिरीको कबाड कारखानामा लागेको आगो सात वटा दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलरा बोहराले बिहानको राति लागेको आगो नियन्त्रणमा आएको जानकारी दिनुभयो ।

काठमाडौँको चन्द्रागिरि नगरपालिकाको  वडानम्बर १० बोसीगाँउस्थित आर.एम.बि.प्लाष्टिक प्याकेजिङ हाउसमा बिहान अन्दाजि ०१ बजेर २० मिनेटको समयमा आगो लागेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले करिब ६ घण्टाको मिहेनतमा आगो नियन्त्रणमा लिएको छ ।

आगो नियन्त्रणका लागि चन्द्रागिरी नगरपालिका, बिशाल बजार, बालाजु, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बौद्द रामहिटि र बुढानिलकण्ठ नगरपालिकाको गरी कुल सात दमकल एवं १५ वटा पानीका ट्याङ्कर र केही जेसिबीको सहायतमा नियन्त्रणमा लिइएको छ ।

बोसीगाँउ स्थित हिराकाजि महर्जनको जग्गा भाडामा लिइ पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा कारखाना सञ्चालन गर्नुभएको थियो । उहाँहरू श्रीमान र श्रीमति रहेको बताइएको छ । आगलागीको कारण अहिलेसम्म खुलेको छैन भने क्षतिको विवरण पनि सार्वजनिक भएको छैन । स्थानीयहरूले भने बीमा दाबीका लागि योजनावद्ध आगजनी गरेको हुनसक्ने भन्दै अनुसन्धानको माग गरेका छन । प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार ०९:१६