नेपालमा अहिलेसम्म बनेका कानुनहरू नियन्त्रणमुखी भएः महासचिव पोखरेल
१९ फागुन, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनलाई विवाद रहित बनाउनु पर्ने बताउनुभएको छ । नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यसले संगठनलाई एकताबद्ध बनाउने बताउनुभयो । ‘बैशाखसम्म जनसंगठनका अधिवेशन गर्ने भनेर तयारी भएको छ, अधिवेशन जति समझदारीका साथ, एकताका साथ निर्विवाद गर्न सकियो स्वाभाविक रूपमा त्यसले काममा सहजता प्राप्त हुन्छ, त्यस बारेमा अहिलेदेखि नै सोच्नु पर्छ’, उहाँले भन्नुभयो ।
पोखरेलले यस विषयमा जनसंगठन संयन्त्रका प्रमुख, जनसंगठनका इन्चार्जहरू र संगठनका अध्यक्षहरूलाई गम्भीर हुन महासचिव पोखरेलले आग्रह गर्नुभयो । ‘सुरुदेखि नै मिहिनेत गर्यो भने त्यो गर्न सकिन्छ, पछि एकैचोटी गर्दा नमिल्न सक्छ, छलफल गर्दै जाँदा सबै विषय टुङ्गिन्छन्, वातावरण बनायो भने चुनाव नै गराउनु पर्ने स्थिति नबन्न सक्दछ, म बलियो छु भन्ने बुझाइले चुनाव हुने त हो नि’, पोखरेलले भन्नुभयो ।
पोखरेलले एमालेका जनसंगठनहरुको अधिवेशन सन्देशमूलक हुनुपर्नेमा जोड दिनुभयो । ‘नवीन सोच र योजनाहरू अधिवेशनबाट सार्वजनिक हुनु पर्दछ, हाम्रो ध्यान बढी निर्वाचनमा केन्द्रित भएको छ, फरक ढङ्गले अघि बढ्ने कुरा महाधिवेशनमा हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
जनसंगठनलाई आधारभूत तहसम्म स्थापित गर्न पार्टीले जनकेन्द्रित अभियान सञ्चालन गरेको पोखरेलले बताउनुभयो । ‘जनसंगठनको विस्तार र विकासको लागि यो अभियान महत्त्वपूर्ण छ, त्यसैले यो अभियानलाई जनसंगठनले महत्त्व दिनु पर्दछ’, पोखरेलले भन्नुभयो ।
अहिले राज्य शासकीय सुधारको पक्षमा केन्द्रित भएको उहाँले बताउनुभयो । यसरी शासकीय सुधारको विषयमा केन्द्रित भएर नेपालमा यस अघि कहिल्यै छलफल नभएको उहाँले सुनाउनुभयो । ‘हामी राजनीतिक रूपमा शासकीय स्वरूप सुधारको पक्षमा केन्द्रित भएका छौँ’, उहाँले भन्नुभयो ।
नेपालमा अहिलेसम्म बनेका कानुनहरू नियन्त्रणमुखी भएका बताउँदै पोखरेलले त्यसलाई सुधार गरी सेवाप्रवाहमैत्री र सुशासनमैत्री बनाउने काम सुरु भएको पोखरेलले बताउनुभयो । सेवा प्रवाहलाई कसरी चुस्त दुरुस्त बनाउने र सुशासनयुक्त बनाउने भन्ने विषयलाई लिएर प्रशासनिक पुनर्संरचनाका विषयमा समेत छलफल सुरु भएको उहाँले बताउनुभयो । कतिपय असान्दर्भिक कानुन समेत अहिले जीवित नै रहेको पोखरेलले सुनाउनुभयो ।
सरकारले केही गर्दै छ भन्ने कुरा नागरिकमा पुर्याउन सक्यो भने त्यसले नागरिकमा सकारात्मक धारणा विकास गर्न सक्ने उहाँले बताउनुभयो । नकारात्मक कुरा गरेर मात्र समाज अघि बढ्न सक्दैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको पोखरेलले स्पष्ट पार्नुभयो ।
पोखरेलले अहिले सकारका काम सञ्चालनको लागि सहजीकरण गर्न दुई दलीय संयन्त्र बनेको बताउँदै पालिका तहसम्म त्यो संयन्त्र बन्दा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । यसले देशका प्रमुख दुई दल मिलेर राज्य सञ्चालन गरेको सन्देश दिएको पोखरेलको भनाइ छ ।
नेकपा एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसंगठनका इन्चार्जहरू, जनसंगठनका अध्यक्षहरू, पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार ११:१२