३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

टोखामा भारतीय अपराधिमाथि गोली प्रहार

१८ फागुन, काठमाडौँ ।  टोखामा प्रहरीले भारतीय अपराधिमाथि गोली प्रहार गरेको छ । मधेश प्रदेशका सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि भक्तपुरको गोठाटारमा गोली हानेर हत्या गर्ने भारतीय अपराधी गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली हानेको हो ।

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको भारतीय अपराधि पटेलको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य सुटर पटेललाई गोली प्रहार गरी नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

dainiki.com

यसअघि मोहम्मदकै हत्याका योजनाकार भारतीय नागरिक बब्लु पासवानमाथि पर्सामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । पासवानकै बयानमा मुख्य सुटर भारतीय नागरिक रहेको खुलेको थियो । त्यसपछि खोजी गरेको प्रहरीले ती व्यक्ति टोखामा रहेको जानकारी पाएपछि गोली हानी नियन्त्रणमा लिएको हो ।

२०७९ असोजमा व्यवसायी लाल मोहम्मदमाथि गोठाटारमा गोली प्रहार भएको थियो । भारतमा पनि अपराधका कैयन घटनामा फरार रहेका गुड्डु नेपालमा लुकिछिपी बस्दै आएका थिए । प्रहरीको चलाएको गोली गुड्डुको घुँडामा लागेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १९:५३