३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

एमालेको जनसंगठन माथिको भानुभक्त ढकालको मिसन पूरा, कमिटीको आकार घट्यो

१८ फागुन, काठमाडौँ । नेकपा (एमाले)मा प्राप्त जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने थोरै नेताको सूचीको अग्रपङ्तिमा हुनुहुन्छ स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल । एमालेमा जनसंगठन समन्वय संयन्त्रको संयोजक भएपछि ढकालले वर्षौदेखि अधिवेशन नभएका जनवर्गीय संगठनमा समेत अधिवेशन सफलता पूर्वक गराउनुभएको छ भने पार्टीको विधानको अधिनमा हुने गरी छुट्टै निर्देशिका मार्फत २३ वटा संगठनहरूको प्रभावकारी सञ्चालनको समन्वय गरिरहनुभएको छ ।

सयंन्त्रको प्रमुख हुनेवित्तिकै निर्देशिकमा बनाएर संगठनहरूमा एकरूपमा ल्याउने प्रयास गर्नुभएको ढकालले पछिल्लो पटक केन्द्रीय कमिटीको आकार र पदाधिकारीको संख्या समेत घटाउने आफ्नो एजेण्डामा पार्टी नेतृत्वलाई सहमत गराउनुभएको छ ।

ढकालले जनसंगठनको नेतृत्वहरूसँग पनि पटक पटक छलफल गराएर साझा एजेन्डाका रूपमा केन्द्रीय कार्यालय मार्फत संशाेधनको प्रस्ताव लैजानुभएको थियो । उहाँले अहिले संशोधन मार्फत अघि सार्नुभएको प्रस्ताव सुरूमै गर्नुभएको थियो । यद्यपी नेताहरूको स्वार्थ बाझिदाँ त्यो सम्भव भएको थिएन ।

आइतबार पार्टी मुख्यालयमा बसेको एमालेको सचिवालय बैठकले जनसंगठन समन्वय सम्बन्धी निर्देशिका संशोधन गर्दै केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या क्रमशः १५० र ९९ मा सीमित गर्ने, जनसङ्गठनको हालको अधिकतम् १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने । अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिला सहित २, उपमहासचिव १ र संगठन– प्रचार– विदेश र कोषको जिम्मेवारी तोकेरै सचिव (कोषध्यक्ष भएमा सो सहित)को सङ्ख्या ४ मा सीमित गर्ने निर्णय गरेको छ । यसले एमालेका जनवर्गीय संगठनहरूलाई प्रभावकारी बनाउन योगदान पुग्नेछ ।

निर्देशिका संशोधनसँगै अब जनसंगठनमा सचिवालय र केन्द्रीय कमिटीका बीचमा अन्य कुनै तह नरहने भएको छ । यसअघि अनेरास्ववियु र युवा संघले स्थायी कमिटी सदस्य भनेर पार्टीकै जस्तो अभ्यास गर्दै आएको थियो । यो संशोधनसँगै जनसंगठनमा केन्द्रमा नेता धेरै हुने तर तल्ला कमिटीमा काम गर्नका लागि नेता कार्यकर्ताको हाकाहार बन्ने परिस्थितिको अन्त्य भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार २१:०७