३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

राजनीतिक दल र उम्मेदवार इमान्दार नहुँदा निर्वाचन प्रणाली महँगोः प्रमुख निर्वाचन आयुक्त थपलिया

७ फागुन, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमान्दार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ । नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरुले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो ।

“निर्वाचन महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरुको इमानदारिता माथिको प्रश्न हो । निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरुलाई मैले सोध्ने गरेको छु, तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नु”, उहाँले भन्नुभयो ।

निर्वाचनको बेला प्रयोग हुने राज्यसंयन्त्रको इमानदारिता माथि पनि उहाँले प्रश्न उठाउनुभयो । निर्वाचनको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । निर्वाचनमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

निर्वाचन दिवसको अवसरमा निर्वाचन आयोगले बुधबार काठमाडौँमा आयोजना गरेको कार्य्रकममा नेपालको निर्वाचन इतिहास सम्बन्धी पुस्तक विमोचन गर्नुहँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पदाधिकारहरु। तस्बिर ः किरणराज बिष्ट / रासस

“लोकतन्त्र भनेको आफ्ना प्रतिनिधि आफैँ छान्ने मात्र नभई यो मान्छेको जीवन शैली र जीवन पद्धति हो । मतदान गर्नु भनेको नागरिकले आफ्नो अधिकारको आत्मबोध गर्नु हो । यो कर्तव्य बोध गर्नका लागि मतदाता शिक्षा बढाउन जरुरी छ”, थपलियाले भन्नुभयो । नागरिक सचेत भएमा मात्रै निर्वाचन सफल हुने उहाँले उल्लेख गर्नुभयो । आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता र अद्यावधिक सम्बन्धित स्थानीय तहबाटै गर्ने व्यवस्था मिलाइने पनि थपलियाले बताउनुभयो ।

त्यस्तै, आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाट मात्र नभई देशभित्र जुनसुकै स्थानको मतदान केन्द्रबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाउन अति आवश्यक रहेको उहाँको भनाइ छ । निर्वाचन व्यवस्थापन तथा सन्चालनसम्बन्धि कानुन चाँडै बनेर कार्यान्वयनमा आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । त्यस्तै, निर्वाचनका क्रममा अहिले सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकताको व्यवस्थापन नयाँ चुनौतीका रुपमा आएको उल्लेख गर्नुभयो ।

निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीले निर्वाचनका क्रममा आयोगको स्वच्छता र निष्पक्षता कायम गर्न सफल भएको बताउनुभयो । निर्वाचन व्यवस्थापनका लागि विधि र पद्धति मा के–कति सुधार आवश्यक छ भनेर समीक्षा गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

‘निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौँ निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास–३’ पुस्तक विमोचन गरिएको छ ।

त्यस्तै तीनवटा जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । दोलखा, स्याङ्जा, डडेल्धुराको जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गरिएको हो । त्यस्तै, हरेक प्रदेशबाट समान एक जना र आयोगका तीन जना गरी १० जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार १३:१८