८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सरकार सुशासनमार्फत मुलुकमा समृद्धि ल्याउन कटिबद्ध छ: मन्त्री गुरुङ

६ फागुन, लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासनका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ । लमजुङको बेंसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा आज जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ‘प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै मन्त्री गुरुङले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताउनुभयो ।

अहिलेसम्म बिग्रिएका सबै कुराको सुधार गर्दै मुलुकलाई सही दिशातर्फ प्रेरित गर्न सरकार अग्रसर भएको उहाँले बताउनुभयो । हामी आर्थिक सुधार गर्ने चरणमा छौं’, मन्त्री गुरुङले भन्नुभयो, ‘यो सरकारले राम्रा काम गरिरहेको छ ।’ पुँजीगत खर्च धेरै बढाउने र रोकिएका विकासका कार्य निर्माणमा जोड दिन अहिलेको सरकार केन्द्रित रहेको उहाँले बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री गुरुङले लमजुङ खेलकुद र संस्कृतिका हिसाबले धनी जिल्ला भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।

देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन खेलकुद अत्यन्त महत्वपूर्ण विधा भएको मन्त्री गुरुङको भनाइ छ । उहाँले जिल्लामा यस्ता महोत्सवबाट लुकेका प्रतिभा पहिचान गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत सुधार गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : February 18, 2025 at 5:56 pm