२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

कांग्रेस ‘कु’ प्रचारमा लागेको एमाले नेता सूर्य थापाको आरोप

३ फागुन, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य थापाले सत्ता साझेदार नेपाली कांग्रेस ‘कु’ प्रचारमा लागेको बताउनुभएको छ । शनिबार सामाजिक सञ्जाल मार्फत थापाले प्यूठानको विकास निर्माणका सम्बन्धमा कांग्रेसले ‘कु’ प्रचार गर्दै भ्रम छरेको बताउनुभएको छ ।

dainiki.com

उहाँदले घटनाक्रम बताउँदै प्रश्न गर्नुभएको छ, ‘सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?’

यस्तो छ थापाको टिप्पणी

केही नलेख्ने भनेको
तथ्य लेख्नैपर्ने भयो !
नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा काँग्रेसको टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ।ल मानौं, एकजना महिला बोल्नुभयो भनेर सामान्य रूपमा नै लिऊँ, यसलाई काँग्रेसका कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर मेराविरूद्द भाइरल गरिएको छ।

जबकि चालू आ.ब.मा बाग्दुला- मच्छी सडकको लागि मेरो सिफारिसमा १ करोड बजेट छुट्टाएर दुईपटक ठेक्का लागिसकेको छ र बाग्दुला पुलको जिरो बिन्दुबाट निर्माण व्यवसायीले काम गरिरहेको अवस्था छ। यस बजेट शीर्षकमा कम्तिमा छ करोड रकम चालू आ.ब.मै थप बजेटका लागि सिफारिस गरेर कोसिश गरिरहेको छु। प्रदेशबाट छुट्ट्याइएको ७० लाखको अझै टेण्डर निकालिएकोसम्म छैन।

विगतमा ७५ प्रतिशत भारतीय निर्माण सामग्री प्रयोग अनिवार्य गरेर गरिएको ठेक्का संझौताअन्तर्गत १० बर्षदेखि कुरा भएर काम नभएको बाग्दुला-मच्छी-भिमगिठे सडकको पुन: ठेक्का लगाउन गतबर्ष माघमा भारतीय एक्जिम बैंकलाई पत्रचार गरिएकोमा अहिलेसम्म कुनै जवाफ दिइएको छैन। र, ठेकेदारले उच्च अदालतमा हालेको मुद्दामा कुनै निर्णय नभएकाले वैकल्पिक स्रोत खोजेर निर्माण अघि बढाउनसमेत अल्झन परेको छ।

यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटरबाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौं र ?

अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?

काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ। यसका बारेमा नेकपा(एमाले), प्युठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ। जहाँसम्म “जितको उन्माद” भनिएको छ, पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेरै मैले जितेको त जिवित तथ्य नै हो, यो कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै थियो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त ?

प्रकाशित मिति : 17:39