२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

‘कार्यकर्ता संरक्षण कोष’ बनाउने अभियान चलाएका गोपालमानले १२ वर्षपछि पाए सम्मान

३० माघ, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का नेता कार्यकर्ताले नब धनाढ्यको उपाधि पाउँदै जानेक्रम तीब्र रूपमा अघि बढेको छ । स्थानीय स्तरमा ठेकदार उत्पादनदेखि केन्द्रीय स्तरमा विचौलिया उत्पादनको काम पनि नभएको होइन । फरक शैलीमा  लामो समयदेखि नुवाकोटको कम्युनिष्ट आन्दोलनमा सक्रिय गोपालमान श्रेष्ठले कार्यकर्ता संरक्षण कोषको अभियान चलाएको १२ वर्षपछि पार्टीको केन्द्रीय नेताबाट सम्मानित हुने अवसर पाउनुभएको छ ।

गोपालमानले २०६८ सालदेखि एक्लै चलाइरहेको अभियानमा विदुर नगर कमिटीका अध्यक्ष अनुजकुमार श्रेष्ठले साथ दिएपछि गोपालमानले सम्मान समेत प्राप्त गर्नुभएको हो । प्राय जिल्लास्तरीय र केन्द्रीय नेताहरूले समेत बहुलाको उपाधि दिने गोपालमानको एकोहोरो अभियान १२ वर्षपछि भए पनि सफल भएको छ ।

सम्मानित भएपछि श्रीमति दुर्गादेवी श्रेष्ठसँग गोपालमान श्रेष्ठ ।

१२ वर्षमा खोला पनि फर्किन्छ भन्ने उखान चरितार्थ गर्दै जिल्ला अधिवेशनले पारित गरेर अलपत्र पारेको अभियान नगरकमिटीले आफ्नो बनाएको छ । मंगलबार विदुर नगरकमिटीको दोस्रो अधिवेशनमा गोपालमान सम्मानित हुनुभयो । उहाँले १२ वर्षदेखि चलाएको अभियानमा थप सहयोग गर्दै हिजैमात्रै अर्को १५ हजार रूपैयाँ सहयोगको घोषणा समेत गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले गोपालमानलाई माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । १२ वर्षदेखि निरन्तर अभियानमा लाग्नुभएको श्रेष्ठ सम्मानित हुन पाउँदा र नगर कमिटीले कोषका निम्ति अपनत्व लिँदा निकै खुशी हुनुभएको छ । सो अवसरमा केन्द्रीय सदस्यद्धय केशवराज पाण्डे र विन्दा ढुंगाना एवं जिल्ला अध्यक्ष बद्री मैनाली समेत उपस्थित हुनुहुन्थ्यो ।

गोपालमान कम्युनिष्ट पार्टीले कार्यकर्ताको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुन । तर नेताहरूको चाकरीमा नलाग्दा उहाँ पछिल्लो समय पछि पारिनुभएको छ । नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ४ मा दुई पटकसम्म वडा अध्यक्षमा निर्वाचित हुनुभएको गोपालमान कार्यकर्ताको आँखामा बिझाउने खालको कहिल्यै हुनुभएन । उहाँ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा विदुर नगरपालिकाको वडा नम्बर ४ मा लोकप्रिय मतका साथ तत्कालीन एमालेको चुनाव चिन्ह लिएर विजयी हुनुभएको थियो ।

गोपालमान श्रेष्ठलाई माला र दोसल्ला ओढाएर सम्मान गर्दै एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराई, साथमा केन्द्रीय सदस्यद्धय केशवराज पाण्डे र विन्दा ढुंगाना, जिल्ला अध्यक्ष बद्री मैनाली र नगरकमिटीका अध्यक्ष अनुजकुमार श्रेष्ठ ।

तत्कालीन एमालेको २०६८ सालमा भएको जिल्ला अधिवेशनले कार्यकर्ता संरक्षणका लागि एउटा कोष बनाउने प्रस्ताव पारित गर्यो सोही निर्यण पनि भयो । तर त्यसको कार्यान्वनका लागि तत्कालीन अध्यक्ष नारायण खतिवडादेखि पदाधिकारी कसैले एक रूपैयाँ पनि उक्त कोषमा पैसा जम्मा गर्नुभएन । नत गोपालमान जस्ता कार्यकर्ता संरक्षण कोषको खाता नम्बर माग्नेले सहज रूपमै पाए नम्बर पाउनुभयो ।

यद्यपी लामो संघर्षपछि गोपालमानले जिल्ला नेतृत्वबाट खाता नम्बर प्राप्त गर्नुभयो । उक्त खाता नम्बर प्राप्त गरेपछि आजका दिनसम्म पनि उक्त कोषका नाममा गोपालमानले पैसा जम्मा गर्दै आउनुभएको छ त्यो पनि नियमित रूपमा । उहाँको यो इमान्दार प्रयासबाट सिक्नुपर्नेमा एमाले नेताहरूले उहाँको प्रयत्ननलाई सकारात्मक रूपमा व्यख्या गर्न समेत सकेनन् ।

नेकपाबाट पुनः एमाले भएपछि त्यसपछि भएको अभिवेशनमा तत्कालीन उपसचिव काशिराज अधिकारीले अधिवेशनमा उक्त कोषको विषय सम्बोधन हुने प्रतिवेदन ल्याउनु भयो । कार्यकर्ताले ताली पिटेर समर्थन पनि जनाए । तर जिल्ला नेतृत्वको वेवास्ताले फेरि पनि निर्णय कार्यान्वयनमा आउन सकेन । यद्यपी पछि विदुर नगरकमिटीले गोपालमानको अभियानमा साथ दिन कोष स्थापनाको निर्णय नै गर्यो । उक्त कोषामा अध्यक्ष अनुजकुमार श्रेष्ठले एक लाख रूपैयाँ दिने घोषणा गर्नुभयो । अब कार्यबिधि बनाएर उक्त कोषको प्रवभाकारी कार्यान्वयनमा लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाले दैनिकीसँग कुरा गर्दै भन्नुभयो, ‘गाह्रो(साह्रो पर्दा कार्यकर्ताहरुलाई केही राहत होस् भन्ने हेतुले कार्यकर्ता संरक्षण कोष स्थापना गर्नका लागि अभियान संचालन गरि पार्टीको खातामा निरन्तर रकम जम्मा गरेर दबाब सृजना गर्दै आईरहनु भएको छ। उहाँको अभियानबाट प्रेरित भएर नेकपा एमाले विदुर नगर कमिटीले कार्यकर्ता संरक्षण कोष स्थापना गर्ने निर्णय गरेकोछ । वडा र टोल कमिटीको सिफारिसमा राहत प्रदान गर्ने गरि छिटै कार्यविधि बनाएर अगाडि वढ्नेछौ । हिजो भएको दोश्रो अधिबेशनको उद्घाटन समारोहमा उनै अभियन्ता गोपालमान श्रेष्ठलाई सम्मान गर्न पाउँदा हामी गौरवान्वीत भएकाछौ।’

पाँच वर्षअघि कोषका बारेमा गोपालमानले दैनिकीसँग गरेको कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 16:27