प्रचण्डले चुनाव लड्ने चर्चा चलेको नुवाकोट १ को पञ्चकन्यामा ‘जनयुद्ध’को बिदा
३० माघ, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले जनयुद्ध दिवस मनाउने भएको छ । गाउँपालिकाले सार्वजनिक बिदानै दिएर जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न आदेश दिएको भए पनि पञ्चकन्याले सोही नाममा दिवस मनाउने निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २०८४ को संसदीय चुनाव नुवाकोट १ बाट लड्ने चर्चा चलिरहेकै समयमा सोही क्षेत्रमा पर्ने माओवादी केन्द्रका नेता रमेशबहादुर तामाङले नेतृत्व गरेको पञ्चकन्यामा सार्वजनिक बिदा दिने निर्णय भएपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले बुधबार सार्वजनिक सूचना जारी गर्दै बिहीबार फागुन १ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले २०८१ मंसिर २६ गते गरेको निर्णय गत पुसमा प्रमाणीकरण भएको थियो ।
संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधानविपरीत रहेकोले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२ को ५ बमोजीम प्रतिकूल भएको सर्वोच्चले किटान गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले उक्त आदेश दिएको थियो । तर स्थानीय सरकारहरूले अदालतको आदेशविपरित काम गरिरहेका छन ।
यस्तो छ गाउँपालिकाको सार्वजनिक सूचना

प्रकाशित मिति : 14:54









