सांसद पदबाट निलम्बन फुकुवा गरिदिन माग गर्दै रवि लामिछानेले दिए सभामुखलाई निवेदन
१८ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पद निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेललाई निवेदन दिएका छन् ।
लामिछानेले संसद्को हिउँदे अधिवेशन शुरू हुने दिन शुक्रबार बिहान सभामुखसँग भेटवार्ता गरेका हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा लामिछानेले निलम्बन फुकुवा गरेर संसद्को बैठकमा सहभागी हुने वातावरण मिलाइदिन आग्रह गरेका हुन् ।
कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो ।
निवेदनमा लामिछानेले आफू जिल्ला अदालतबाट धरौटीमा थुनामुक्त भएकोले निलम्बन फुकुवाको माग गरेका छन् । सहकारी ठगीको अनुसन्धानका शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेको सांसद पद मुद्दा दर्ता गरेको दिन पुस ८ गतेदेखि निलम्बनमा परेको थियो ।
कास्की, काठमाडौँ र रुपन्देही जिल्ला अदालतले सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेको भन्न सकिने आधार नदेखिएको भन्दै धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
कास्कीका ६५ लाख, काठमाडौँमा ६० लाख र रुपन्देहीमा १ करोड धरौटी तिरेर लामिछाने रिहा भएका थिए ।
प्रकाशित मिति : 12:54







