२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

ओलीको जन्मथलोमा ‘जनयुद्ध संग्राहलय’ शिलान्यास गर्न प्रचण्ड तेह्रथुममा

१४ माघ, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुन अनन्त एउटा पार्क उद्घाटनका लागि नेपाली सेनाको हेलिकप्टरमा तेह्रथुम उड्नुभएको छ । प्रचण्डले सोमबार र मंगलबार तेह्रथुमको आठराईमा समय बिताउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

सोमबार लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट प्रचण्ड प्रधामन्त्रीसमेत रहनुभएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जानुहुनेछ । प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।

नेकपा (एमाले)का नेताहरूले पछिल्लो समय जनयुद्ध हैन सशस्त्र द्धन्द्ध थियो भनेर सार्वजनिक रूपमा बोल्न थालेपछि संसदमा समेत यो विषय प्रवेश गरेको थियो । सार्वजनिक मञ्चहरूमा र एमाले महासचिव शंकर पोखरेलले समेत जनयुद्धको बारेमा गलत बोलेको भन्दै एमालेभित्रकै पूर्व माओवादी मन अमिलो बनाएर बसिरहेको सन्दर्भमा माओवादीले भने ओलीकै जन्मथलोमा जनयुद्ध संग्राहलय शिलान्यास गर्न लागेको हो ।

उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागि १८ लडाकु र ३ सर्वसाधारणको निधन भएको थियो । पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो ।

प्रचण्ड आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्ने कार्यक्रम छ । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने कार्यतालिका छ । त्यसपछि उहाँले कन्दङवाको शालीक अनावरण गर्नुहुनेछ ।

दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उहाँ काठमाडौं फर्कने तयारी छ । प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यामिक विद्यालयमा शिक्षकको नियुक्ति लिनुभएको थियो । नियुक्तिपत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुग्नुभएको उहाँ विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि बाटोबाटै फर्किनुभएको थियो ।

dainiki.com

प्रकाशित मिति : 09:07