२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

जागिर खोज्दै हिँडेको मान्छेलाई मुख्यमन्त्री लामाले नुवाकोटमा कांग्रेस प्रवेश गराएपछि…

२९ पुस, नुवाकोट । नुवाकोटमा विभिन्न घटनाक्रम भैरहेका हुन्छन । जिल्ला भित्र वा बाहिरका घटनाक्रम धेरैजसो राष्ट्रिय चर्चाकै विषय पनि बन्ने गरेको छ । पुस २८ गते आइतबार बिहान नुवाकोटको विदुरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाकोमा जागिर पाउने आशमा पुगेका एक युवालाई नेपाली कांग्रेस प्रवेश गराएको भन्दै तस्बिर कैद गरेर प्रचार गरिएको छ ।

नेपाली कांग्रेसका नेताहरूले अहिलेसम्म कुनै पार्टीमा सामान्य सदस्य समेत नरहनुभएको विदुर नगरपालिका वडा नम्बर १ सिमुटारका यादव थपलिया एमालेबाट कांग्रेस प्रवेश गरेको भन्दै एकपक्षीय रूपमा प्रचार भएपछि सोमबार थपलियाले एक विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता बताउनुभएको छ ।

सिद्धार्थ होटल वाटर टावरमा मुख्यमन्त्री रहेको र त्यहाँ जागिर कुरा गर्ने भन्दै गएका थपलियालाई च्याप्पै पारेर पार्टी प्रवेश गराएको खुलेको छ । पार्टी प्रवेशको माहोलमा मुख्यमन्त्रीको मानमर्दन गर्न मन नलागेर आफूले खादासम्म ग्रहण गरेको थपलियाले सोमबार विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ । उहाँले अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नलिएको भए पनि नेपाली कांग्रेसले दूर्व्यवहार गरेका कारण आफू अब एमालेको सदस्य बन्ने र राजनीतिमा सक्रिय हुने घोषणा गर्नुभएको छ ।

घटनाक्रम मार्फत बताउँदै थपलियाले बताउनुभएको छ, ‘विदुर नगरपालिका वडा नं। १ सिमटार निवासी म यादव प्रसाद थपलिया विगत लामो समय देखि सवारी चालकको पेशा गर्दै आइरहेको स्वतन्त्र व्यक्ति हु । विगत केहि दिन अगाडी देखि नाताले काका मार्फत माननीय मुख्यमन्त्री बहादुर सिंह लामा ज्यूसँग नुवाकोटका सवारी चालक पद रिक्त रहेका स्थानहरुमा जागीर खुवाइदिन अनुरोध गरेकोमा हिजो मिति २०८१ साल पुस २८ गते विहान ९ बजे तिर काकाले होटेल वाटर टावरमा जाउ मुख्यमन्त्री ज्यू हुनुहुन्छ भनी गएकोमा एक्कासी पार्टी प्रबेश कार्यक्रम राखिएको देखि नतमस्तक भई मुख्यमन्त्री ज्यूको अगाडी कसरी अपमान गर्न सकिन्छ र भनी मनमनै सोचि कार्यक्रम सरिक भई दिउसो अरु नै कार्यक्रममा गई बेलुका घर आउदा सामाजिक सञ्जालमा र स्थानीय मिडियाले समेत एमाले नेता यादव प्रसाद थपलिया कांग्रेस प्रबेश भनी मेरो कुनै राय नलिई एक तर्फी रुपमा समाचार प्रकाशन प्रशारण गरेको प्रति यसै विज्ञप्ती मार्फत खेद प्रकट गर्दछु ।’

त्यस्तै अबको कार्ययोजना बारेमा थपलियाले उल्लेख गर्नुभएको छ,  ‘हिजोका मिति भन्दा अगाडी म कुनै पनि पार्टीको सदस्यता ग्रहण गरेको थिएन र राजनितीमा सरिक नभई आफ्नो पेशा अंगालेर अगाढी बढी रहेको व्यक्तिलाई एमाले नेता काग्रेस प्रबेश भनी प्रचार खोजी प्रचारबाजी गरिएकोमा आजका मिति देखि जिवनमा पहिलो पटक सदस्यता भनी काग्रेसले दिएको सदस्यता परित्याग गरि अवको मेरो बाकी जिन्दगी एमाले नेकपा एमाले पार्टीमा रही सक्रिय रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रकाशित मिति : २९ पुष २०८१, सोमबार १९:३२