शंकर पोखरेलले अपमान गरेको भन्दै ४६ नेताले एकै पटक छाडे एमाले
२२ पुस, कैलाली । नेकपा (एमाले)का सचिव लेखराज भट्टलाई गृहनगर कैलाली गोदाबरीमै एक्लो पार्ने अभियानमा पूर्व माओवादी समूह लागेको छ । भट्टसँगै नेकपा निरन्तरता भनेर एमालेमा बसिरहेका नेताहरूले सामूहिक रूपमा एमाले परित्यागको अभियान चलाएका छन ।
नेकपा एमालेका पूर्व उपाध्यक्ष डा भीमबहादुर रावललाई कारबाही गराउनका लागि सहयोगी भूमिका खेलेका भट्टले आफ्नै गृहनगरमा एकैपटक ४६ नेताले साथ छोडेका छन । उनीहरूले एक सामूहिक राजिनामापत्र नै सार्वजनिक गरी एमाले परित्यागको घोषणा गरेका छन । पार्टी परित्याग गर्ने एकै गाउँका पार्टी नेता र कार्यकर्ता रहेका छन ।
गोदावरी नगरपालिका–२ का ४६ जना एमालेका संगठित सदस्यहरूले एकैपटक राजिनामा दिएका हुन । राजिनामा दिने सबै सचिव भट्टसँगै नेकपाको निरन्तरता भनेर एमालेमा रहेकाहरू हुन । एमाले परित्याग गर्नेहरूले एमाले भएर बस्दा पनि आफूहरूले पटक–पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व कै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र बस्न नसकिएको निष्कर्षमा पुगेको विषय राजिनामा पत्रमा उल्लेख गरेका छन ।

पत्रमा भनिएको छ, ‘अहिलेको एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने भए पनि त्यसका विरुद्ध मुख्य नेतृत्व खास गरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौँ ।’ उनीहरूले पार्टी परित्याग गर्नुपर्ने कारणमा महासचिव शंकर पोखरेल भनेका छन ।
पार्टी परित्याग गरे पनि उनीहरूले अर्को कुन पार्टीमा जाने भन्नेबारेमा केही उल्लेख गरेका छैनन् । उनीहरू पूर्व माओवादी पृष्ठभूमिका भएका कारण माओवादीमा जान्छन वा अन्य केही निर्णय लिन्छन त्यो बारेमा राजीनामा पत्रमा केही उल्लेख गरिएको छैन । यद्यपी माओवादी नेताहरूले भने उनीहरूको राजिनामाको बढी नै प्रचारप्रसार गरिरहेका छन ।
भट्टकै कारण गोदावरी नगरपालिकामा २०७४ मा एमालेले जितेको प्रमुख २०८९को चुनावमा नेपाली कांग्रेसको पोल्टामा पुगेको भन्दै आलोचना समेत हुने गरेको थियो । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हरिसिंह साउद ९८७० मतसहित एमालेबाट प्रमुखमा विजयी हुनुभएको थियो । जुन निर्वाचनमा माओवादीले ६४८१ मत प्राप्त गरेको थियो । तर पछि भट्ट एमाले भएपछि भएको २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका विरेन्द्र भट्टले १५५०१ मतसहित विजयी हुँदा नेकपा एमालेका गोकर्ण भट्टले भारी मतान्तरमा पराजित हुनुभयो ।





प्रकाशित मिति : 14:17









