२० पुष २०८१, शनिबार | Sun Jan 5 2025

माउन्टेन टेलिभिजनका अध्यक्ष कडेँलविरूद्ध २२ करोडको भ्रष्टाचार मुद्दा

-माधवप्रसाद तिवारी

१५ पुस, काठमाडौँ । माउन्टेन टेलिभिजनका अध्यक्ष समेत रहेका चर्चित घर जग्गा व्यवसायी राजुप्रसाद कडेँलको विरूद्धमा २२ करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आतइबार लामो अनुसन्धान टुंगोमा पुर्याउँदै व्यसायी कडेँलका विरूद्धमा दुई मुद्दामा २२ करोड भन्दा बढी बिगो दाबी गरिएको छ ।

आइतबार आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन अनुसार नौ करोड बाईस लाख छयालीस हजार बत्तीस रुपैया तेत्तीस पैसा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा तेह्र करोड बाह्र लाख त्रीहत्तर हजार बत्तीस रुपैया तेत्तीस पैसा गरि कुल बाइस करोड पैँतिस लाख उन्नाइस हजार चौसठ्ठी रूपैयाँ छैसठ्ठी पैसा बिगो माग दाबी गरिएको छ ।

अख्तियारले भनेको छ, ‘पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा उक्त कम्पनीका सञ्चालक/अध्यक्ष राजुप्रसाद कडेँललाई भ्रष्टाचार निवारण ऐन, २०५८९ को  दफा  ३ को उपदफा ३ बमोजिमको कसूरमा विगो नौ करोड बाईस लाख छयालीस हजार बत्तीस रुपैया र तेत्तीस पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय (झ) बमोजिम सजाय हुन, साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ र दफा ४७ बमोजिम तालिका १३ मा उल्लेखित जग्गा/सम्पत्तिबाट जफत/असुल उपर हुन मागदावी लिइएको।’

यस्तै अर्को मुद्दाबारे आयोगले भनेको छ, ‘पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलले मुख्य कसूरदार प्रतिवादी मोहन बहादुर बस्नेतले गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा 3 को उपदफा (३) को परिभाषित कसुरको दुरुत्साहन, मद्दत, सहजीकरणसमेत गरी सोही ऐनको दफा ३ को उपदफा (२) तथा सोही दफा ३ को उपदफा (३) को परिभाषित कसुर गरेको पुष्टि भएको हुँदा प्रतिवादीहरु पद्मा मर्चेन्ट कम्पनी प्रालि, पद्मा कोलोनी प्रा.लि. तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कडेललाई तेह्र करोड बाह्र लाख त्रीहत्तर हजार बत्तीस रुपैया तेत्तीस पैसा मात्र बिगो कायम गरी सोही ऐनको दफा ३० को उपदफा (२), (५), (८) बमोजिम सजाय गरी पाउन, साथै सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम माथि तालिका नं. १३ मा उल्लेखित सम्पत्ति/जग्गा समेत जफत/असुल उपर गरी पाउन मागदावी लिईएको।’

अख्तियारले मेयर बस्नेतको श्रीमति उर्मिलाको नममा रहेको ६ वटा जग्गा जफत गर्न माग गरेको छ ।

घरजग्गा कारोबारका क्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले कँडेलबाट घूस लिएको र उक्त घुस सम्पत्ति शुद्धिकरणको प्रक्रियामा लगेर राज्यलाई ठगी गरिएको पाइएको छ। कँडेलबाट घूसबापत रकम लिएर नेपाली कांग्रेसको बागमती प्रदेशका उपसभापति समेत रहेका बस्नेतले त्यसलाई शुद्धीकरण गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सार्वजनिक पदको दुरुपयोग गरी बस्नेतले कँडेलबाट लिएको घूसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको प्रमाण पनि  अख्तियारले जम्मा गरेर विशेष अदालतमा बुझाएको छ । अख्तियारले कडेँलसँगै प्रमुख बस्नेत र उनको श्रीमति प्रमिला बस्नेको विरूद्धमा कुल चाैवालिस करोड सत्तरी लाख अठतिस हजार एक सय उनान्तिस रूपैयाँ बत्तिस पैसा बिगो मागदाबी र काठमाडाैँको ६ ठाउँमा रहेको प्रमिला बस्नेतको नामको जग्गा जफत गर्न माग गरिएको छ ।

मेयर बस्नेतले नगर प्रमुख पदको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घरजग्गा व्यवसायी जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष कँडेलबाट घूस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको पाइएको छ । बस्नेतले कडेँल नेतृत्वको प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिएको समेत अनुसन्धानबाट पुष्टि भएको  ।

dainiki.com

नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जगतगुरु कृपालु प्रतिष्ठानले राजुप्रसाद कँडेल तथा निजका कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गरेकोमा सोही सम्झौतासमेत कार्यान्वयन गर्न भुलभुलैयामा पारी जग्गाधनीसँग सम्झौता गरी मन्दिर निर्माणका लागि भनी लिएर जग्गा प्लटिङमा बिक्री गर्ने काम गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

अख्तियारले ४७ करोड ७५ लाख रुपैयाँ बजार मूल्य पर्ने जग्गाका लागि पद्म कोलोनीले १८ करोड ९४ लाख १८ हजार ४ सय ४८ रुपैयाँ मात्रै भुक्तानी दिएको र बाँकी रकम मिलेमतोमा मेयर बस्नेत र व्यापारी कँडेलले व्यवस्थापन गरेका थिए । यसबापत बस्नेतले नगर प्रमुखको पदको दुरुपयोग गरी उल्लिखित कार्य गरिदिएबापत बैंक खातामार्फत २ करोड १५ लाख ७३ हजार ३ सय ९५ रुपैयाँ र ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र वैवाहिक भोज गर्दा लागेको २४ लाख ७२ हजार ६ सय ३७ रुपैयाँ शंकर होटलमा भुक्तानी गर्न लगाएका थिए । अख्तियरले यसलाइ पनि महत्वपूर्ण प्रमाणको रूपमा संलग्न गरेको छ ।

कडेँलले जगतगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको मन्दिरका लागि भनी खरिद गर्न लागेको जग्गासमेत स्थानीयलाई बिक्री गर्न जग्गा बैनाबट्टा गरेका थिए । उक्त जग्गा बिक्रीका लागि बैना उठाउने काम मेयर बस्नेत स्वयंले नै गरेको समेत अनुसन्धानबाट पुष्टि भएको छ । त्यसबापत मेयर बस्नेतले आफ्नो बैंक खातामा विभिन्न व्यक्तिबाट ३ करोड ७२ हजार रुपैयाँ लिएको अख्तियारले जनाएको छ । जग्गा खरिद गर्न र गराउन व्यापारीलाई अनुकूल हुने गरी काम गरिदिएबापत मेयर बस्नेतले पद्म मर्चेन्ट प्रालि र पद्म कोलोनीको बैंक खाताबाट घूस बुझेका छन । यसको प्रमाणहरू पनि अख्तियारले अदालतमै बुझाएको छ ।

अख्तियारले पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलको नाममा रहेको तल उल्लेखित १५६ रोपनी २ आना र २ दाम जग्गा जफत गर्न माग गरेको छ । जग्गाको विवरण तल हेर्न सक्नुहुन्छ । 

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार २०:५८