१९ पुष २०८१, शुक्रबार | Sat Jan 4 2025

शेरा दरबारको जग्गामा गृहमन्त्रीको पनि चासो, दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन

१४ पुस, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको शेरा दरबारको जग्गाका सम्बन्धमा चासो देखाउनु भएको छ । आइतबार गृहमन्त्रालयमा प्रहरी प्रमुख बसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाईसँगै राखेर जग्गा हिनामिनामा संलग्नहरूमा माथि तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्रीले जुनसुकै पार्टी वा शक्ति नजिकको भए पनि भूमाफियाहरू कारबाहीको दायरबाट नउम्किउन भनेर कडा निर्देशन दिनुभएको गृहमन्त्रालय स्रोतले जनाएको छ । नुवाकोटमा दरबारको जग्गा कब्जाका लागि स्थानीय रूपमा संयोजन गर्ने ध्रुवलाल श्रेष्ठ नेपाली कांग्रेसको नेता रहेको र पार्टी भित्र सभापति शेरबहादुर देउवा निकट रहेको एवं विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठ निकटको भएका कारण मुद्दाबाट जोगाउन प्रशासनले भूमिका खेल्न सक्ने आशंकाले स्थानीयले खबरदारी गर्नुपर्ने बताइरहेका छन ।

यो पनि पढ्नुहोस्

नुवाकोटको शेरा दरबार प्रकरण: थप अनुसन्धान र कारबाहीका लागि सिआईबीलाई पत्र

नुवाकोटको शेरा दरबारको जग्गा फिर्ता ल्याउन सरकारलाई सिआईबीको सिफारिस

नुवाकोटको शेरा दरबारको जग्गा हिनामिना गर्ने माथि अख्तियारले थप अनुसन्धान र कारबाही गर्ने

नुवाकोटको शेरा दरबारको १८४ रोपनी जग्गा कम्पनी हुँदै यसरी पुग्यो व्यक्तिको कब्जामा

यसअघि नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको शेरा दरबारको जग्गा फिर्ता ल्याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र अख्तियार दुरूपयोग अनुसन्धान अयोगलाई सिफारिस गरेको थियो ।

ब्यूरोले पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा तत्कालै नेपाल सरकारको नाममा ल्याउन सिफारिस गरेको प्रतिवेदन शुक्रबार मन्त्रालयमा हस्तान्तरण भएको छ । व्यूरोले आवश्यक थप अनुसन्धान र कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत लेखि पठाएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष प्रहरीको रहेको छ । प्रहरीले कार्यान्वयका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई अनुसन्धान प्रतिवेदन नै हस्तान्तरण गरेको छ ।

प्रतिवेदन अनुसार जग्गा कम्पनीको नाममा लैजान भूमिका खेल्ने र कम्पनी हुँदै व्यक्तिको नाममा लैजान संलग्नहरू माथि थप कारबाही प्रकिया अब अख्तियारबाट हुनेछ । अख्तियारले यसअघि नै जग्गाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले त्यसका लागि सम्पूर्ण अुनसन्धान प्रतिवेदन मन्त्रालयमा जस्तै आयोगमा पनि पठाएको छ ।

पृथ्वीनारायण शाहको पालाको १८४ रोपनी जग्गा पुस्तैनी सम्पत्तिका रुपमा हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी नातनी बुहारी हेलेन शाह र नातिनी जयन्ती शाहको नाममा आएको थियो । तर, भूमि सुधार ऐन ९२०२१०, मालपोत ऐन ९२०३४० लागू भएर कार्यान्वयनमा आउँदा हदबन्दी अनुसार हेलेनको नाममा १२ रोपनी र जयन्तीको नाममा ६ रोपनी ९ आना जग्गा कायम भएको थियो । अब हदबन्दी भन्दा बढी रहेको १६३ रोपनी जग्गा सोझो सरकारको नाममा आउनेछ भने हेलेन र जयन्तीको नाम हुँदै २०६४ सालपछि अन्य व्यक्तिको नाममा गएको जग्गा पनि पक्रिया पुर्याएर नेपाल ट्रष्टको नाममा आउनेछ ।

प्रहरी अनुसन्धानबाट प्रचण्डको पूर्व स्वकीय सचिव विकेश श्रेष्ठले विक्रम संवत २०४४ सालदेखि नै जग्गाको भोगचलन गर्दै आएको खुलेको छ । उनले ढड्डामा गौरीशंकर फार्मिङको नाम काटेर अन्नपूर्ण फार्मिङको नाम बनाएको पाएको छ । ढड्डामा केरमेट गरी नाम परिवर्तन गरिएको छ ।

 

प्रकाशित मिति : १४ पुष २०८१, आईतवार १३:५३