बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्न तीन सदस्यीय समिति गठन
१२ पुस, काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ । मन्त्रिपरिषद्को पुस ९ गते बसेको बैठकले अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा अर्थ सचिव डा रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा रहनुभएको नेपाल सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो । अब समितिले अध्यक्षका लागि दरखास्त आव्हान गरी तीन जनाको छोटो सूची बनाएर मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । त्यसपछि प्राधिकरणले अध्यक्ष पाउनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेपछि पद रिक्त रहेको छ । सिलवालले पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा अदालतमा भ्रष्टाचार मुद्दा परेको छ ।

अख्तियारले १५ साउन २०८० पछि सिलवालले लिएको पारिश्रमिक बापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी मुद्दा दायर गरेको हो । सिलवालले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए ।
पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपी लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए । तर निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन २०७३ मा अवकाश लिएका थिए ।
पछि उनी बीमा समितिको अध्यक्षमा नियुक्त भए । त्यतिबेला सार्ववजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्ति ६५ वर्ष पूरा भएका व्यक्ति अवकाश हुनुपर्ने व्यवस्था थियो । तर, १५ साउन २०८० मा अवकाश पाउनुपर्ने सिलवालले पछि भने आफ्नो जन्म मितिबारे फरक दाबी गरे । २४ कात्तिक २०१८ मा आफ्नो जन्म मिति रहेको दाबी गर्दै उनले ६५ वर्षपछि समेत पदमा बहाल रहेको भन्दै अख्तियारले प्रश्न उठाएको हो ।
प्रकाशित मिति : December 27, 2024 at 12:37 pm









