७ पुष २०८१, आईतवार | Sun Dec 22 2024

महाकाली धार परिवर्तन गर्न भारतीय डोजर नेपाली भूमिमा छिरेपछि दार्चुलामा तनाव

७ पुस, काठमाडौँ । महाकाली नदीको धार परिवर्तन गर्न भारतीय डोजर नेपाली भूमिमा छिरेपछि दार्चुलामा तनाव उत्पन्न भएको छ । भारतीय डोजनर विना अनुमति नै नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले भारतीय डोजर र त्यसका चालकलालाई नियन्त्रणमा लिएका छन ।

दार्चुला जिल्लाको सदरमुकाम नजिक महाकाली नगरपालिका वडा नम्बर ५ स्थित वीरेन्द्र वन नजिक नदीको धार परिवर्तन गराउन किनार खन्दै गरेको अवस्थामा स्थानीयले भारतीय डोजर र चालकलाई नियन्त्रणमा लिएका हुन् । यसअघि पनि महाकाली किनारमा भारतीयले एकपक्षीय रूपमा डोजर चलाएर धार परिवर्तनको काम गर्ने गरेको थियो ।

यद्यपी स्थानीयको प्रतिवादपछि दुबै देशका अधिकारीले बसेर छलफल गरी समस्या समाधान गर्ने गरेका थिए । आइतबार बिहान अन्दाजी सँँढे ११ बजेको समयमा नेपाली भूमिमा छिरेर नदीको धार परिवर्तन गराउन किनार खनिरहेको अवस्थामा स्थानीयले डोजर र त्यसका चालक समातेका हुन ।

भारतीयका कारण महाकालीमा निरन्तर तनाव हुँदै आएको छ । भारतीय पक्षले कहिले ढुंगाले हानेर नेपाली मार्ने त कहिले तुइन काटेर मान्छे नदीमा बेपत्ता पार्ने काम गर्दै आएको छ । तर पनि नेपाली पक्षले प्रभावकारी समन्वय नगर्दा समस्या ज्यूँ को त्यूँ रहेको छ ।

स्थानीयले डोजर र चालक नियन्त्रणमा लिएपछि नेपाल पक्षका सरकारी अधिकारी समेत घटनास्थलमा पुगेका छन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले स्थानीय र सुरक्षा अधिकारीबीच घटनाका विषयमा छलफल भैरहेको जानकारी दिनुभएको छ ।

विगतमा भएको छलफलमा नेपाल र भारत दुबै देशले एक-अर्कालाई असर नगर्ने गरी संरचना निर्माण गर्ने समझदारी  भएको भए पनि भारतीय पक्षले निरन्तर उलंघन गर्दै आएको छ । भारतले महाकाली नदी नियन्त्रणका लागि आफ्नो भूभागमा निरन्तर तटबन्ध निर्माणको काम गर्दै आएको छ ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १४:५०