४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

गुल्मीको मुसिकोट-१ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी

१७ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गर्नुभयो । साथै नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गर्नुभएको छ ।

मुसिकोट नगरपालिका–१ मा चार हजार ९१ मतदातामध्ये दुई हजार तीन सय ३४ जनाले मतदान गरेका थिए ।  तीन मतदानस्थल एवं पाँच वटा मतदान केन्द्र रहेको उक्त वडामा नेपाल राष्ट्रिय सर्वोदय माविको अमराई मतदान केन्द्रमा एक हजार नौ सय ४५, सरस्वती मावि मतदान केन्द्रमा एक हजार दुई सय ९७ र जनज्योति मावि केन्द्र अरेबामा आठ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रिषीराम घिमिरेले जानकारी दिनुभयो ।

वडाध्यक्ष पदका लागि आठ जनाको मनोनयन दर्ता भएको थियो । मुसिकोट–१ मा तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०१:०४