मुलुकले औद्योगीकरणमा फड्को मार्न सकेन: अर्थमन्त्री पौडेल
१५ मंसिर, बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले औद्योगीकरणमा फड्को मार्न नसकेको बताउनुभएको छ ।
रुपन्देही उद्योग संघको ४७औँ वार्षिकोत्सव एवं औद्योगिक दिवसको अवसरमा बुटवलमा भएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले अहिलेसम्म औद्योगीकरणमा फड्को मार्न नसक्नु कमजोरी भएको स्विकार्दै अब तीव्र गतिमा त्यसतर्फ जानुपर्ने तथा स्थिर सरकारले गर्दा यो सम्भव हुने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘सरकारले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको छ। औद्योगिक क्षेत्रका लागि सरकारले ८ सय १३ बिघा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ल्याएको थियो । सरकारले अर्थतन्त्र सुधारका लागि विज्ञहरूको आयोग बनाएर उनीहरूका सुझावका आधारमा अघि बढेको र आउने नीति तथा कार्यक्रम र बजेटमा त्यसको प्रतिफल देखिने छ । यो सरकार २०८४ सम्म नै जानेछ ।’
अर्थमन्त्री पौडेलले विमानस्थल चल्दैन भनेर नबोल्न र नलेख्न समेत आग्रह गर्नुभभयो ।
प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार १२:५८