हुम्लामा राष्ट्रिय खोप कार्यक्रम
८ मङ्सिर, हुम्ला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु भएको कार्यक्रम मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा जिल्लाका १२ वर्ष उमेर माथिका, खोप लगाउन छुटेकालाई जनस्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मी वडावडामा गएर खोप लगाउने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अहेव राजु रावतले जानकारी दिनुभयो । तीन जना स्वास्थ्यकर्मीसहित प्रत्येक वडामा स्वयम्सेविका परिचालन गरिएको उहाँले बताउनुभयो ।
हवाई टिकट नपाउँदा यात्रु अलपत्र
जिल्लामा बाहिरबाट आएका कर्मचारी तथा विद्यार्थीहरु हवाई टिकट नपाएपछि सिमकोट उड्डयन कार्यालयमा अलपत्र परेका छन् । सीता एयरलाइन्सले तीन उडान गरे पनि चाडपर्वमा गृह जिल्ला आएकाहरु गन्तव्यतर्फ फर्कन थालेपछि हवाई टिकट अभाव भएको हो ।
नाम्खा गाउँपालिका–६ यारी घर भई उपचारका लागि काठमाडौँ जान लाग्नुभएका रिङ्जिन लामाले सात दिनसम्म कुर्दा पनि टिकट नपाएको गुनासो गर्नुभयो ।
प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार १२:३७