चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
३० कात्तिक, बागमती । चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाको उपमहानगरपालिका–८ कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको गरगहनासहित हेटौँडा उपमहानगरपालिका–१५ निवासी मनोज पुलामीमगर र हेटौँडास्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
यही कात्तिक ७ गते अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाइलसमेत चोरी भएको सूचनाका आधारमा चोरीमा सङ्लग्न व्यक्तिको खोजतलास गर्ने क्रममा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।
चोरीमा सङ्लग्न मगरले चोरीका गरगहना, नगद र मोबाइलमध्ये केही सुनका गरगहना शिवशक्ति सुनचाँदी पसलका सञ्चालक विश्वकर्मालाई बिक्री गरेको बताएपछि उहाँलाई पनि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुबाट चोरीका साढे तीन तोला सुन र पाँच तोला चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनामाथि अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार २०:५६