१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

नेपालले आजदेखि गर्दैछ बंगलादेशमा विद्युत निर्यात

 ३० कार्तिक, काठमाडौँ । आजदेखि बंगलादेशमा नेपालले बिजुली निर्यात गर्ने भएको छ । भारतको प्रसारण लाइनमार्फत शुक्रबार दिउँसो नेपालको बिजुली बंगलादेश पुग्ने भएको हो ।

शुक्रबार ४० मेगावाटबाट सुरू हुने निर्यात आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने प्राधिकरणको तयारी छ।

बंगलादेश निर्यात गर्नका लागि भारतको प्रसारण प्रणाली प्रयोग गरिने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

शुक्रबार मध्याह्न १२ बजे निर्देशक घिसिङसँगै नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यसअघि गत असोज १७ गते बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको थियो।

प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ।

नेपालले बंगलादेशलाई बिजुली बिक्री गरेर वार्षिक ९।२ मिलियन अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा लिइएको छ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत् निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेछ।

यी दुवै विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्।

प्रकाशित मिति : November 15, 2024 at 11:32 am