१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

सहकारी ठगीका मास्टरमाइन्ड रवि थप १३ दिन कास्की प्रहरीकै हिरासतमै रहने

२५ कात्तिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले सभापति लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । प्रहरीले सभापति लामिछानेलाई आज कार्यालय समय खुलेलगत्तै म्याद थपका लागि अदालत लगेको थियो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा सभापति लामिछाने यही कात्तिक २ गते पक्राउ पर्नुभएको हो ।  उहाँलाई कात्तिक ४ गते पहिलोपटक अदालत उपस्थित गराइएकामा पहिलोपटक पक्राउ परेको मितिले सात दिन र दोस्रो पटक कात्तिक ७ गते थप सात दिन म्याद थप गरिएको थियो ।

कात्तिक २० गते तेस्रोपटक कात्तिक १५ गतेदेखि लागू हुने गरी १० दिनको अनुसन्धान समय दिइएको थियो । सभापति लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार २१:५८