११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

तिहारमा कौडासहित समातिएका नुवाकोट कांग्रेसका नेताहरू धरौटीमा छुटे

२३ कार्त्तिक, नुवाकोट । तिहारमा काैडासहित समातिएका नुवाकोट कांग्रेसका नेतासहितका युवाहरू धराैटीमा छुटेका छन । विदुर नगरपालिका वडा नम्बर ५ ठूलोगाउँस्थित एक घरमा जुवाघर सञ्चालन गरेर काैडा खेलिरहेको समयमा समातिएका विदुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य समेत रहेका नेपाली कांग्रेस नुवाकोटका नेता होमबहादुर कुमालसहित पाँच जना नै धराैटीमा छुटेका हुन ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले होमबहादुरसहित पक्राउ परेका पाँचै जनालाइ धराैटीमा छाडिएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक दीपक घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले तिहारमा कौडा र नगद ९७ हजार पाँचसय रुपैयाँसहित जनप्रतिनिधि कुमालसहित पाँच जनालाई पक्राउ गरी हिरासतमा राखेको थियो ।

विदुर नगरपालिकाका जनप्रतिनिधि होमबहादुर कुमाल (भाइटीका र टोपीमा) र कुमाल संघका अध्यक्ष भिमसेन कुमाल ।

पक्राउ पर्नेमा कांग्रेसकै अर्का नेता एवं कुमाल संघका अध्यक्ष भीमसेन कुमालसहित रहेका थिए । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी महल अनुसार कारबाही अघि बढाइएको थियो । गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १९:२६