२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प

२१ कात्तिक, काठमाडौँ । वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी हुँदै हुनुहुन्छ । यसको औपचारिक घोषणा हुन बाँकी रहेको छ । अहिलेसम्म घोषणा भएको औपचारिक मतपरिणाममा राष्ट्रपतिमा विजयी नजिक रहनुभएको ट्रम्पले २६६ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ भने ह्यारिसले १९५ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । राष्ट्रपतिमा विजयी हुन २७० इलेक्टोरल भोट आवश्यक हुन्छ ।

अझै ११ इलेक्टोरल भोटका लागि ट्रप्पले अत्याधिक मतान्तरमा अग्रता लिनुभएको छ । वर्तमान राष्ट्रपति जो बाइडेनले अस्वस्थता देखाएर चुनावी अभियानबाट बाहिरिएपछि ह्यारिस तीन महिना अघिमात्र चुनावी अभियानमा राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि बढ्नुभएको थियो । पपुलर मतमा समेत ट्रप्पले जितिरहनुभएको छ ।

ट्रम्प सन् १८९२ मा ग्रोभर क्लिभल्याण्डपछि लगातार दुई कार्यकाल अमेरिकाको राष्ट्रपति हुने पहिलो व्यक्ति बन्दै हुनुहुन्छ । ट्रम्पको जितसँगै यस पटक अमेरिकाको तल्लो र माथिल्लो दुबै सदनमा पनि रिपब्लिकनले कब्जा जमाउने भएको छ । यसको पनि सुनिश्चित भैसकेको छ ।

dainiki.com

केहीबेरअघि आफ्नो विजयको घोषणा गर्दै ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्दै व्हाइट हाउसमा दोस्रो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गर्नुभएको छ । फ्लोरिडास्थित चुनावी अभियानको मुख्यालयमा भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै उहाँले अबका वर्षहरू अमेरिकाको लागि ‘स्वर्ण युग’ हुने बताउनुभयो । सम्बोधनका क्रममा ट्रम्पले भन्नुभयो, ‘यो अमेरिकी जनताको लागि ठूलो जित हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउने छ ।’

श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँगै स्टेजमा पुग्नुभएको ट्रम्पले आफ्नो चुनावी अभियानको नारा ‘मेक अमेरिका ट्रम्प अगेन’ पुनः स्मरण गर्नुभयो । दोस्रो कार्यकालको लागि चार वर्ष ह्वाइट हाउसमा बस्दा ट्रम्पले धेरै विषय घोषणा अनुसार नै टुंगोमा पुर्याउने अपेक्षा समेत गरिएको छ ।

ट्रम्प पहिलो पटक सन् २०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएको थियो । उहाँले अमेरिकाको पूर्व विदेश सचिव हिलारी क्लिन्टनलाई राष्ट्रपतिमा पराजित गर्नुभएको थियो । ट्रम्पले नर्थ क्यारोलिना, विस्कॉन्सिन, पेन्सिलभेनिया र जर्जियाका राज्यहरूमा आश्चर्यजनक जित हाँसिल गर्नुभएको छ ।

ट्रम्पले विजयी घोषणा गर्दै समर्थकहरूको बीचमा गरेको सम्बोधन तल सुन्न र हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १४:४६