५ फाल्गुन २०८२, मंगलवार | Wed Feb 18 2026

सरकारी जागीरसँगै कालिजपालन गर्छन् ढोरपाटनका चुडामणि

२० कात्तिक, बागलुङ । यहाँको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गर्नुभएको छ ।

पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुनुहुन्छ । उहाँ कार्यालय बाहेकका समय कालिज फार्ममा खटिनुहुन्छ । कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गर्नु भएको थियो । रु २४ हजारमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म रु २५ लाख बढी लगानी गरिसक्नुभएको छ ।

कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिरहनु भएको छ । रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि उहाँ दङ्ग हुनुहुन्छ । कँडेलले छ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थाल्नुभएको हो । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उहाँ बताउनुहुन्छ । चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उहाँले सुनाउनुभयो ।

“केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइँन”, उहाँले भन्नुभयो, “पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यस पछि व्यावसायिक गर्नुपर्छ कि भन्ने सोच आयो । रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो ।”

कोभिड–१९को महामारीका बेला एकै पटक पाँच सय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नु पर्यो । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उहाँले बताउनुभयो । कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् । भाले कालिजलाई रु दुई हजार पाँच सय र पोथी कालिजलाई रु एक हजार पाँच सयमा बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । दसैँमा तीन सय वटा कालिज बिक्री भयो । हाल फार्ममा सात सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने उहाँले जानकारी दिनुभयो ।

एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलवार १४:१३