९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने

९ कात्तिक, चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिनुभएको छ । रङ्गशालाको आज यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले रङ्गशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रङ्गशाला निर्माण सुरु गरिएको रहेछ । बहुवर्षीय योजनालाई उच्च प्रथामिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिने छ । हाम्रो चलन के छ, भने बहुवर्षीय योजना बनाउने सुरुवातमा केही बजेट दिने अर्को वर्ष थोरै थोरै बजेट विनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसकेकेपछि त्यस्तो नगरी तीव वर्षमा सिध्याउने हो भने त्यस अनुसार नै बजेट विनियोजन गर्ने योजना बनाएको छु ।” बजेट दिने विधिलाई समेत परिमार्जन गर्ने गरिएको उहाँले बताउनुभयो ।

पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको उहाँको भनाइ थियो । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उहाँले बताउनुभयो । अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताउनुभयो । यो नमूना परियोजनाको रुपमा काम भइरहेको उहाँले बताउनुभयो । कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसूर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

गत असार २३ गते रङ्गशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो । महानगरपालिकाका डिभिजन इञ्जिनीयर सन्तोष आचार्यका अनुसार रङ्गशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिबीच दुईपक्षीय सम्झौता भएको हो । रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उहाँले बताउनुभयो ।

एउटा टावरमा ग्राउण्ड निर्माणको काम भइरहेको छ, भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भइरहेको छ । तिहार अघि ढलान भ्याउने गरी काम भएको उहाँले बताउनुभयो । रङ्गशाला निरीक्षणमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १६:२७