२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सहकारी ठगीको मुद्दामा रवि लामिछाने पक्राउ, कास्की प्रहरीको हिरासतमा राखिने

२ कार्त्तिक, काठमाडाैँ । सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन । सहकारीको करोडाैँ रकम हिनामिनाको अभियोगमा लामिछाने माथि अनुसन्धान गर्न लागिएको हो । शुक्रबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका लामिछानेलाई कास्कीको पोखरा लगिदैछ । ६ बजेर ४५ मिनेटमा पक्राउ पुर्जी बुझ्दै लामिछानेले प्रहरीलाई गिरफ्तारी दिएका हुन ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार नै अनुमति दिएको थियो । अदालतका अनुसार लामिछानेसहित १३ जनाका नाममा पक्राउ पुर्जी जारी भएको छ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको सभापतित्वमा बनेको संसदीय विशेष समितिले गरेको सिफारिस कार्यान्वयनका लागि प्रहरीले लामिछानेविरूद्ध पक्राउ माग गरेर अदालतमा निवेदन दिएको हो ।

dainiki.com

संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने रहनुभएको थियो । जिबी अहिले पनि फरार रहनुभएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १९:१२