२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

यसरी मनाईयो काठमाडौंमा `एनआरएन डे´

अष्ट्रेलिया । गैरआवासीय  नेपाली संघ (एनआरएनए)ले  आफ्नो स्थापना दिवस स्वयंभू र पशुपतीनाथ मन्दिरमा पुजा आराधना देखी कार्यालमा झण्डोतोलन गरि मनाएको छ ।

एनआरएनएले ११ अक्टोवरलाई एनआरएन डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउदै आएको छ ।

गैरआवासीय नेपाली दिवसको सन्दर्भमा संस्थाले शुक्रवार विहान स्वयंभूनाथ र पशुपति नाथमा पुजा आराधना गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थितमा केन्द्रीय कार्यालयमा झन्डोत्तलन गर्दै मनाएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार  स्थापना दिवसको अवसरमा संघले अक्टोवर पुरै महिना बिभिन्न संस्थागत तथा परोपरकारी कामका गतिविधि संचालन गर्न संघका राष्ट्रिय समितिहरुलाई आग्रह गरिएको छ । कार्यक्रममा संघका उपाध्यक्ष रोज़ीना प्रधान राई, कोषाध्यक्ष सुदन थापा सल्लाहकारहरु अतुल कोईराला, डीबी कार्की, ओशियाना सह संयोजक गोकुल घिमिरे, आईसीसी सदस्य हेमन्त काफ्ले, अर्जुन गुरुङ, ओशियाना युवा संयोजक सुर्य आचार्य लगायतको उपस्थित रहेको थियो ।

संघले स्थापना दिवसको मुल समारोह तथा वार्षिक साधारणसभा भने आगामी अक्टोवर २७ र २८ तारिख काठमाण्डौंस्थित होटल सोल्टीमा आयोजना गर्ने तयारी गरेको आइसिसि सदस्य हेमन्त काफ्ले बताएका छन्  । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको छ । वार्षिक साधारणसभामा संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पेश हुने संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।

समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा `नेपालीका लागि नेपाली´ भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा रहेको छ ।

विदेशमा रहेका नेपाली र नेपाली मुलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पर्–याउन सकिने सोचले रसियामा बस्ने नेपालीहरुको सकृयतामा सन् २००३ अगष्टमा लण्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोवर ११ – १३ तारिखमा काठमाडौमा पहिलो विश्व सम्मेलन गरेर विधिवतरुपमा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो।

लण्डन बैठकमा बेलारुसबाट डा. उपेन्द्र महतो, रसियाबाट भिम उदास र जीबा लामिछाने, जर्मनीबाट रामप्रताप थापा, अमेरिकाबाट राज उपाध्याय, अष्ट्रेलियाबाट दिपक खड्का, क्यानाडाबाट कुञ्जर शर्मा, बेलायतबाट डा.राघव धिताल, चिरञ्जीवी ढकाल, हरिविभोर कार्की, निमा लामा, महन्त श्रेष्ठ, ध्रुव केसी, माधवलाल श्रेष्ठ, बालमकुन्द जोशी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार १६:५७