१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया

१८ असोज, काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि शुक्रबार तय गरिएको अन्तर्वार्ता रोकिएको छ । उक्त अन्तर्वाताका लागि छनोट सूचीमा परेका बाँकी तीन जना चिरञ्जिवि चापागाईं, कृष्णबहादुर कार्की र नवराज अधिकारीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बिहान ८ बजे सिंहदरबार बोलाइएको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी अस्वस्थ्य हुनु भएका कारण अन्तर्वार्ता रोकिएको स्रोतले जनाएको छ । अधिकारी अध्यक्ष छनोटका लागि गठित समितिका संयोजक हुन् । यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो ।

छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत हालेका थिए । त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिक आदेश दिएको थियो । उक्त  आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि शुक्रबार बिहान ८ बजे सिंहदरबार बोलाएको थियो ।  २०८० पुस २० देखि धितोपत्र बोर्ड अध्यक्षविहीन भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १२:०२